
कोहलपुर । बाँके जिल्लाको पहिलो कोरोना सङ्क्रमित व्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेसु डा. प्रकाश थापाले जानकारी दिए । पहिलो परीक्षणमा सङ्क्रमण पुुष्टि भएको र सात दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
जिल्लामा रहेका उनीसहित संक्रमित २३ जनाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । हाल सबै बिरामीको अवस्था सामान्य रहेको उपचारमा संलग्न फिजिसियन डा. पारस खड्काले जानकारी दिए । नेपालगञ्जमा सात वर्षीयादेखि ६० वर्षीया नागरिकसम्म कोरोना सङ्क्रमण देखिएको छ ।
यस्तै नेपाल–भारत सीमानाका जोडिएको जिल्लाको जमुनाहलगायत खुला सीमानाकामा लुकिछिपी नेपाल आवतजावत हुन नदिनका सीमा क्षेत्रको निगरानीलाई कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । जिल्लामा कोरोना संक्रमण जोखिम बढ्दै गएपछि जिप्रकाले सीमाक्षेत्रमा आवागमनमा कडाइ गर्न सशस्त्र प्रहरीको निगरानी बढाइएको जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस