aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

भारतीय राजदूतले परराष्ट्रमा उल्टै 'लिपुलेक' भारतको भनेर बुझाए नोट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० बैशाख २०७७
भारतीय राजदूतले परराष्ट्रमा उल्टै 'लिपुलेक' भारतको भनेर बुझाए नोट

काठमाडौं । नेपाली भूमि लिपुलेक अतिक्रमण गर्दै भारतीय सेनाले निर्माण गरेको सडकलाई भारतीय रक्षामन्त्रीले उद्घाटन गरेपछि नेपालमा चर्को विरोध जारी छ । भारतले एकपक्षीय रुपमा नेपाली भूमि हुँदै मानसरोवर जान बनाएको बाटो उद्घाटन गरेपछि नेपालमा विरोध चर्किरहेको छ ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनका बीच काठमाडौंका सडकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा अाेलीको पुत्लासमेत देशका बिभिन्न स्थानमा जलेको छ ।

सुक्रबार भारतीय रक्षामन्त्रीले भिडियाे कन्फरेन्स मार्फत उक्त सडक खण्डकाे उद्घाटन गरेकाे उनकै टुइटर मार्फत नै सार्वजनिक गरेकाे थियाे । 

कर्मकाण्डी कुटनीतिक नाेट फ्याँक्ने भन्दा बाहेक अरू केही नगरेका सरकार लकडाउनकै अवधिमा देशका विभिन्न स्थानमा सडक देखि सदनसम्म तात्तिन थालेपछि भने जागेको देखिएकाे छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतीय कदममा असन्तुष्टिसहित ध्यानाकर्षण भएको जानकारी गरायो ।

त्यसको काउन्टरमा भारतको विदेश मन्त्रालयले लगत्तै वक्तव्य जारी गर्दै लिपुलेकमा बनाइएको सडक भारतीय भूमिमा रहेको दावी गर्‍यो ।

बजेट अधिवेशनका लागि डाकिएको संसदमा सबैभन्दा बढी प्राथमिकता यही विषयले पायो । सांसदहरुले कुरा उठाए । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र मन्त्रीलाई सांसदहरुले प्रश्नैप्रश्नले घेरे । बाध्य भएर परराष्ट्र मन्त्रालयले काठमाडौं स्थित भारतीय राजदूतलाई मन्त्रालयमा बोलायो ।

संसदकाे सुन्य समयमा अधिकांस सांसदहरूले कालापानी लिपुलेकमा सिमा मिचिएकाे विषय उठान भएपश्चात फलस्वरूप मंगलबार सभामुख अग्नी प्रसाद सापकाेटाले सरकारकाे ध्यानाकार्षण गराइसकेकाे छ ।

परराष्ट्र मन्त्रालयले सोमवार ट्वीट गर्दै जानकारी गरायो- ‘परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा सीमा समस्याबारे नेपाल सरकारको धारणाबारे जानकारी गराउनु भएको छ र यसै विषयमा एउटा कुटनीतिक नोट बुझाउनु भएको छ,’ परराष्ट्र मन्त्रालयले सोमबार टुइट मार्फत जनाएको छ ।

एउटा कर्मचारी तहको कुटनीतिज्ञलाई कुटनीतिक नोट दिन परराष्ट्रमन्त्री नै किन अगाडि सरे ? सामाजिक सञ्जालमा यस विषयमा चर्चा चलिरहेको छ । सामाजिक सञ्जालमा मन्त्री ज्ञवाली र राजदूत क्वात्राबीचको भेटको तस्विर भाइरल भइरहेको छ । भेटमा राजदूत क्वात्रा सामान्य शिष्टाचार मर्यादा विपरीत उपरखुट्टी लगाएर बसेको देखिन्छ ।

त्यस्तै, मन्त्रीले नभइ परराष्ट्र सचिवले राजदूतलाई नोट दिनुपर्नेमा मन्त्री नै लाचारी देखाएर उपस्थित भएको भन्दै आलोचनासमेत सुरु भएको छ ।

परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै कुटनीतिक नोट दिएको बताइरहेका बेला काटमाडौंस्थित भारतीय दूतावासले ट्वीट गर्दै परराष्ट्र मन्त्री ज्ञवालीलाई भारत सरकारको पोजिसन स्पष्ट रुपमा राखेको जानकारी गराएको काउन्टर ट्विट जारी भएको छ ।

दूतावासले भारत सरकारको तर्फबाट भारतीय विदेश मन्त्रालयका प्रवक्ताको प्रतिक्रियासमेत परराष्ट्र मन्त्रीलाई हस्तान्तरण गरेको जानकारी गराएको छ ।

'हालै उद्घाटन गरिएको सडक खण्ड उत्तराखण्ड राज्यको पिथौरागढ जिल्ला पूर्णरुपमा भारतीय भूमिमा पर्छ । सडक पूर्ववत रुपमा कायम रहेको कैलाश मानसरोवर यात्रा रुटमा बनेको हो । अहिलेको योजनाले सोही सडकलाई नै तीर्थयात्री, स्थानीय व्यापारीहरुको सुविधाका लागि स्तरोन्नती गरिएको हो,' विदेश मन्त्रालयका प्रवक्ताले शनिवार भनेका थिए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारत र नेपाल सरकारले सीमासम्बन्धी विषयलाई छलफल गर्नका लागि संयन्त्र बनाएको भन्दै नेपालसँगको सीमा रेखा कोर्ने काम अगाडि बढिरहेको बताएका थिए । उनले भारत कुटनीतिक पहलबाट सीमा समस्या समाधान गर्न प्रतिवद्ध रहेको जनाएका छन् ।

प्रवक्ताले कोभिड-१९ को आपतकाल सकिएपछि कुटनीतिक छलफल अगाडि बढाइने बताएका थिए। भारतीय दूतावासको ट्वीटले यही वक्तव्य परराष्ट्रमन्त्री ज्ञवालीलाई बुझाएको स्पष्ट गरेको छ ।

तर, परराष्ट्र मन्त्री ज्ञवालीले दिएको नोटमा के उल्लेख गरिएको छ भन्ने कुरा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन ।
 

प्रतिक्रिया दिनुहोस