
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणविरुद्ध लड्न नेपाललाई अहिलेसम्म सबैभन्दा धेरै सहयोग गरेको देश चीनबाट जनमुक्ति सेनाको विमान सहायता सामान बोकेर बुधवार काठमाडौं ओर्लिने अधिकारीहरूले बताएका छन्।
नेपाली सेनालाई चीनले सहयोग गरेको स्वास्थ्य सामग्रीहरूका साथ चीनको वायुसेनाको एउटा विमान नेपाल आउने भएको छ।नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने, ‘नेपाली सेनालाई सहायतास्वरूप दिने स्वास्थ्य सामग्री लिएर चिनियाँ वायुसेनाको ठूलो विमान काठमाडौं आउँदैछ ।’
नेपाली सेनाले त्यसबारे औपचारिक जानकारी भने दिएको छैन। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चिनियाँ जनमुक्ति सेनाको विमान स्वास्थ्य सुरक्षा सामग्री लिएर काठमाडौं आउन लागेको हो। त्यसमा स्वास्थ्यकर्मीलाई आवश्यक पीपीईजस्ता सुरक्षा सामग्री रहेको बताइएको छ।
सहयोग गर्नेमा चीन अगाडि
अधिकारीहरूका अनुसार कोरोना भाइरसविरुद्धको जारी सङ्घर्षमा सरकारी स्तरबाट नेपाललाई सहयोग गर्नेमा चीन सबैभन्दा अग्र स्थानमा छ। चीनको केन्द्रका साथै प्रान्तीय सरकार र अन्य विभिन्न सहरहरूले पनि अलग अलग सहयोग पठाएका छन्।
अरू सहयोगी को को ?
दक्षिणी छिमेकी भारतले हालसम्म २३ टन सामग्री सहयोग गरेको छ। त्यहाँबाट नेपाल सरकारले जीटुजी विधिमार्फत् किन्ने भनिएको औषधिहरू पनि अबको तीन दिनपछि नेपाल आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना भाइरस सङ्क्रमण पहिलो पटक देखिएको चीन महामारी रोकथाममा सफल देखिएको छ भने भारतमा सङ्क्रमण बढ्दो क्रममा देखिन्छ। त्यस्तै कतार, युएई र स्विस सरकारले पनि नेपाललाई सहयोग सामग्रीहरू दिएका छन्।
महानिर्देशक श्रेष्ठका अनुसार जर्मनीले सहायता संस्थामार्फत् सहयोग गरेको छ। त्यस्तै ब्रिटेन सरकारले विश्व स्वास्थ्य सङ्गठनमार्फत् सहयोग गरिरहेको छ भने अमेरिकी राजदूतावासले पनि केही सामानहरू दिएको छ।
सेनाले पनि ल्याउँदै
त्यसबाहेक नेपालले आफै पनि चीनबाट ठूलो मात्रामा स्वास्थ्य सामग्री, उपकरण र औषधि खरिद गरेको छ। ती सामान स्थल र हवाइमार्गबाट नेपाल ल्याइँदैछ।
सडकमार्गबाट सामान चीनबाट हिँडिसकेको छ भने हवाईजहाजबाट ल्याइने सामान यो साताबाट आउने नेपाली सेनाले जनाएको छ ।
भन्सार जाँचपास लगायतका काम सकिएर अन्य प्रक्रिया टुङ्गो लगाएपछि हवाईजहाजमार्फत् सामान ल्याइने बताइएको छ। बीबीसी
प्रतिक्रिया दिनुहोस