aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

लकडाउनको ५० औं दिनः संक्रमित १९१ जना, ३ अर्ब बजेट निकासा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० बैशाख २०७७
लकडाउनको ५० औं दिनः संक्रमित १९१ जना, ३ अर्ब बजेट निकासा

काठमाडौं । आज वैशाख ३० गते लकडाउन शुरु भएको ५० औं दिन । आजसम्म १९१ जना कोभिड–१९संक्रमित देखिएका छन् । आज मंगलबार एकै दिन अहिलेसम्म कै सबैभन्दा धेरै ५७ जना कोभिड–१९ संक्रमित थपिए । यदि आजकै जस्तो संक्रमित बढ्ने हो भने अबको केही दिनमै दैनिक त्रिपल डिजिजमा कोरोना संक्रमित पुग्ने सहजै अनुमान गर्न सकिन्छ । सीमा नाकाका जिल्लामा बढ्दै गएको यो कोभिड नेपालको गाउँ तथा ठूला सहरमा प्रवेश गर्यो भने कस्तो अवस्था आउँला त्यो कल्पना पनि हामी गर्न सक्दैनौ ।

छिमेकी मुलुक चीनबाट कोभिड–१९ विश्वव्यापी रुपमा फैलिदै गर्दा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई रेड जोनमा राखेको थियो । पछि नेपाल हटाएर काठमाडौंलाई रेड जोनमा राख्यो । सरकारले कोभिड–१९ को परिक्षण गर्न नसकेर हो साच्चै अहिलेसम्म काठमाडौं कोरोना भाइरसका लागि सुरक्षित स्थान बनेको छ । अहिलेसम्म एक जनाले पनि ज्यान गुमाउनु परेको अवस्था छैन । र यो दिन नआओस् पनि ।

तर, यहाँ सोचनीय विषय यो छकि सरकारले सबै जनताको टेष्ट गराउन नसकेको होकि या नेपाललाई पशुपति नाथको कृपा भएको भएको हो । दिनादिन बढ्दै गएको कोभिड–१९ यदि काठमाडौंमा देखिन थाल्यो भने सरकारले यो अवस्थालाई कसरी व्यवस्थापन गर्छ या थाम्न सक्छ ? यो भयावह स्थिति आउनु अघि नै सरकार सचेत बनेको खोइ ? कोभिडसँग जुध्ने पूर्वाधार तथा उपकरण कहिले तयार र प्रर्याप्तता हुन्छ ।

अहिलेसम्म देशमा देखिएका कुल संक्रमितमध्य काठमाडौंमा जम्मा ५ जनामात्र संक्रमित छन् । ३३ जना निको भएर घर फर्किसकेको अवस्था छ । सरकारले कोभिड फैलिएको करिब चार महिनाको अवधिमा जम्मा १७ हजार ८ सय ७८ जनाको मात्र पीसीआर परीक्षण गरेको छ भने ५८ हजार ५ सय ४६ जनाको आरडीटी टेष्ट गरेको छ । विदेशबाट फकिएका र अन्य गरी अहिले १२ हजार सात सय एक जना क्वारेन्टाइनमा छन् भने १ सय ५३ जना आइसोलेशनमा रहेका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

अहिलेसम्म पर्सा जिल्लामा ६२ जना संक्रमित देखिएका छन् भने उदयपुर कोरोना संक्रमित बढी हुने दोस्रो जिल्ला बनेको छ । आज मंगलबारसम्म उदयपुर ३२, कपिलवस्तु २९, बाँके २४, रुपन्देही १६, कैलालाी ४, रौतहट र बारा ३, बाग्लुङ, चितवन र झापा २ र अन्यमा १ गरी जम्मा एक सय ९१ जना कोरोना संक्रमित बनेका छन् ।

सरकारले यो अवधिमा मेडिकल उपकरण तथा औषधि खरिद गर्न तीन अर्ब रुपैयाँ निकाशा गरेको छ भने कोरोना कोषमा दुई अर्ब २३ करोड रुपैयाँ संकलन भएको छ । सरकारले कोरोना कोषमा अहिलेसम्म ५० करोड रुपैयाँमात्र हालेको छ । संघ, प्रदेश र स्थानीय तहमा गरी जम्मा ३७ हजार क्वारेन्टाइन निर्माण गरिएको छ ।

कोभिड–१९ कारण देश बन्दाबन्दीको अवस्थामा छ । बन्दाबन्दीको कारणले पुँजीगत बजेट खर्च हुन सकिरहेको छैन भने राजस्व संकलन न्यूनमात्र छ । यो अवधिमा देशले तीन खर्बभन्दा बढी घाटा व्यहोर्नु पर्ने अवस्था आइसकेको अर्थमन्त्रीलगायत अर्थ विज्ञहरूले अनुमान गरिरहेका छन् ।

यस्तो अवस्थामा सरकारले अन्य सबै विषय र कामलाई थाती राखेर भएपनि जस्तोसुकै मूल्यमा मानवीय पुँजीलाई जोगाउनु पर्ने हुन्छ ।  गाँस र स्वास्थ्य अहिले सरकारको पहिलो प्राथमिकता हो । रोजगारी गुमेकालाई रोजगारीको व्यवस्थापनमा सरकारको ध्यान केन्द्रीत हुनुपर्छ ।

अस्ति आइतबारदेखि बैंक तथा वित्तीय क्षेत्र फूल फेजमा शुरु हुन थालेका छन् भने बजारमा चहलपहल पनि बढ्न थालेको छ । सरकारले विशेष आर्थिक क्षेत्र सेज, औद्योगिक क्षेत्रभित्र सञ्चालित सबै उद्योगसहित अन्य ४२ प्रकारका उद्योग खोल्न दिने भएको छ । यद्यपी सरकारले जेठ ५ गतेसम्म लकडाउन गरेको छ ।


सरकारले गरेको पछिल्लो निर्णय र आजैको अवस्थालाई हेर्ने हो भने अब नेपालीहरू कोरोनाबाट कति दिन सुरक्षित रहन सक्छन् त्यो प्रश्न सिर्जना भएको छ ।    

 

प्रतिक्रिया दिनुहोस