aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सीमा विवादबारे जथाभावी नबोल्न प्रधानमन्त्रीको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० बैशाख २०७७
सीमा विवादबारे जथाभावी नबोल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे जथाभाबी नबोल्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सीमाबारे आफूखुसी जथाभावी नबोल्न मन्त्रीहरूलाई निर्देशन दिएका हुन् । 

एक मन्त्रीकाअनुसार प्रधानमन्त्री ओलीले सीमा समस्या कूटनीतिक तवरबाट नै हल गर्ने विषय भएकोले यसमा व्यक्तिगत रुपमा जथाभावी नबोल्न कडा निर्देशन दिएका छन् । उनले सीमा समस्या हल गर्नको लागि आफ्नो तर्फबाट पहल गरिरहेको पनि विश्वास दिलाएका थिए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले लिपुलेख लिम्पियाधुरा नेपालको नक्सामा कहिलेपनि नभएको प्रतिक्रिया दिएको भन्दै सोमबारको संसदीय बैठकमा आलोचना भएको थियो । सोही प्रसंगलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई निर्देशन दिएको हुन सक्ने एक मन्त्रीले जनाएका छन् । 

त्यस्तै, प्रधानमन्त्री ओली काठमाडौंमा लकडाउन खुकुलो भएको भन्दै मन्त्रीहरुसँग रुष्ट बनेका छन् । प्रधानमन्त्री ओलीले काठमाडौंको पछिल्लो २, ३ दिनको अवस्था आफूले नजिकबाट नियाँलिरहेकोले यसलाई लकडाउन नभनिने भन्दै मन्त्रीहरुसँग कड्किएका थिए । उनले पछिल्ला दिनमा कोरोनाको संक्रमण बढिरहेकोले यसमा गम्भिर बन्नुपर्ने बताउँदै लकडाउन कडाईका साथ कार्यान्वयन गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कडा निर्देशन दिएका छन् । 

प्रतिक्रिया दिनुहोस