aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

लिपुलेक सुरक्षाका लागि आज सशस्त्र प्रहरीको टोली जाँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ बैशाख २०७७
लिपुलेक सुरक्षाका लागि आज सशस्त्र प्रहरीको टोली जाँदै

काठमाडौं । नेपाली भूमी प्रयाेग गर्दै मानसराेबर जाने बाटाे लिपुलेकहुँदै भारतले एकतर्फी सडक बनाएर भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भिडियाे कन्फिरेन्स मार्फत उद्घाटन गरेपश्चात  गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि आज (बुधबार) नेपाली सेनाको हेलिकप्टरमा सशस्त्र प्रहरीको टोली जाँदै छ ।

गृह मन्त्रालयका अनुसार दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (विओपी) स्थापनाका लागि टोली पठाउन लागिएको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बुधबार सशस्त्र प्रहरीको फौज पठाउन लिखितरुपमा निर्देशन दिइसकेको जानकारी दिए । उनका अनुसार टाेलीलाई सेनाको हेलिकप्टरले छाङरु पुर्‍याउने छ ।

चार दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेपछि यसको सर्वत्र विरोध भइरहेको छ । त्यसैले सीमा रक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन लागेको हो ।

छाङरु भारतीय सीमाबाट एक किलोमिटरको दूरीमा पर्छ भने चीनको सीमा क्षेत्र १४ किलोमिटरको दूरीमा छ । पहिलो चरणमा सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा टोली पठाउने तयारी गरिएको छ । मंगलबार नै टोलीका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामग्री तयारीमा गुल्मका टोली खटिएको उनले बताए । स्थानीय एक व्यक्तिको घर भाडामा लिएर विओपी बस्ने छ । उक्त गाउँमा १०५ घरधुरी रहेको छ ।

सरकारले गत मंसिरमा नै यहाँ विओपी राख्ने निर्णय गरेको थियो । तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ विओपी थियो । मंसिरमा सरकारले ११४ विओपी स्थापना गर्ने निर्णय गरेको थियो ।

त्यसपछि जम्मा १३ स्थानमा मात्रै विओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिए । उनकाे अनुसार सरकारी निर्णयपछि भारतको सीमा क्षेत्रमा १२ र एउटा संखुवासभाको किमाथाङ्कामा राखिसकिएको छ । तत्कालीन समयमा उत्तरी नाकामा सात र बाँकी दक्षिणी सीमानामा विओपी राख्ने निर्णय भएको थियो ।

हुम्लाको हिल्सा, मुस्ताङको कोरला, दार्चुलाको छाङरु, ताप्लेजुङको ओलाङचुङगोला तथा रसुवा र सिन्धुपाल्चोकको सीमा क्षेत्रमा क्रमशः विओपी राख्ने तयारी यसअघि नै गरिएको थियो । तर, कार्यान्वयन हुन सकेको थिएन । अहिले भने भारतले सीमा अतिक्रमण गरेपछिमात्रै तातो लागेर छाङरुमा विओपी राख्न लागिएको हो ।

हाल कायम रहेको १२० स्थानमा सशस्त्रको सीमा निगरानी चौकी रहेको छ । एउटा चौकीमा ३५ सशस्त्र प्रहरी रहेका छन् । एक सुरक्षा चौकीको दूरी झण्डै १७ किलोमिटरको दूरीमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस