
काठमाडौं । आउँदो आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आज दिउँसो साढे ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । नीति तथा कार्यक्रमकै आधारमा बजेटमा कार्यक्रम समावेश हुने भएकाले यसलाई महत्वका साथ हेर्ने गरीन्छ ।
सरकारले नीति तथा कार्यक्रममा कोरोना सङ्क्रमणले पारेको बहुपक्षीय असरलाई केन्द्रित गर्ने बुझिएको छ । नीति कार्यक्रम मन्त्रिपरिषद्बाट अनुमोदन भइसकेको छैन । कोरोना जोखिमबाट परेको बहुपक्षीय असरमा नै कार्यक्रम केन्द्रित हुने जनाइएको छ । नीति तथा कार्यक्रम अनुसार सरकारले वार्षिक बजेट पेस गर्नेछ ।
सरकारले कोरोना जोखिमसँगै स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जनाका कार्यक्रमलाई मुख्य रूपमा नीति कार्यक्रममा अघि सार्ने तयारी गरेको छ ।
हाल कार्यान्वयनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई केही परिमार्जन गर्ने तयारी पनि सरकारको छ । रोजगारी सिर्जना गर्न कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने र आधुनिकीकरण गर्ने नीति लिने सरकारको तयारी छ ।
नीति तथा कार्यक्रममा आर्थिक गतिविधिमा पुनर्जागरण ल्याउने र अर्थतन्त्र गतिशील बनाउने गरी विशेष नीति आउने अपेक्षा छ । यस्तै व्यवसायीहरुलाई करमा सहुलियत दिने र आन्तरिक आर्थिक गतिविधि बढाएर आन्तरिक आयलाई नै सरकारको मुख्य आय स्रोत बनाउने गरी नीति आउने अनुमान छ ।
प्रतिक्रिया दिनुहोस