
नेपालगन्ज । नेपाल–भारत सीमाको जमुनाहा नाका हुँदै ६ सयभन्दा बढी नेपाली लकडाउकैबीच स्वदेश फर्किएका छन् । नेपाल सरकारले नेपालमा भारतीय नागरिक र भारतमा नेपाली नागरिक अलपत्र अवस्थामा रहेकाहरुको उद्दार गर्न निर्देशन दिएअनुसार बिहीबार नेपालगन्जको जमुनाहा नाका हुँदै उनीहरू फर्किएका हुन् ।
भारतमा रहेका नेपालीहरु लकडाउनकै बीच देश फर्किन पाउने हल्ला चलेपछि नाकामा ६ सय ८७ नेपाली आइपुगेका छन् । दुवै मुलुकका नागरिक जान पाउने भन्ने हल्लाले मानिसहरु सीमामा आइपुगेको सुरक्षा अधिकारीहरुको भनाइ छ ।
भारतको बजार रुपैडिहामा नेपाली नागरिक १४ सयभन्दा बढीको संख्यामा रहेको जानकारी गराइएको छ । उनीहरु भारतका विभिन्न शहरमा काम गरेर लकडाउनको समयमा नेपाल फर्किने बेला भारतीय सुरक्षाकर्मीले नेपाल आउन नदिएपछि उनीहरुलाई उतैको क्वारेन्टाइनमा राखिएको थियो ।
करिव ४५ दिन क्वारेन्टाईनमा बसेका नेपाली बिहीबार नेपाल आउन पाएको जानकारी गराइएको छ । दुवै मुलुकका सुरक्षा अधिकारीबीच एक(अर्काका देशमा क्वारेन्टाइन पूरा गरेका नागरिकलाई पठाउने र लैजाने सहमति भएपछि सोही अनुरुप उनीहरुलाई आ आफ्नो देश जाने व्यवस्था गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस