aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

काठमाडौंका गल्लीमा निस्किए पक्राउ परिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
काठमाडौंका गल्लीमा निस्किए पक्राउ परिने

काठमाडौं । अब काठमाडौंका गल्लीमा निस्किए पनि पक्राउ परिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहँदा लकडाउन कार्यान्वयमा थप कडाइ गर्न यस्तो निर्णय गरेकोे हो । 

प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय गरेको छ । गृह मन्त्रलायबाट प्राप्त निर्देशनअनुसार, शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए । यसअघि काठमाडौंका मूल सडकलाई प्राथमिकतामा राखेर प्रहरी लकडाउन कार्यान्वयमा खटिएको थियो ।

प्रशासनले यसअघि जारी भएका सबै ई–पास र पहेँलो रङको पास पनि खारेज भएको बताएको छ । अब जारी हुने पास नीलो रङको हुने भनिएको छ । प्रशासनले अत्यावश्यक अवस्थामा हिँड्ने गह्रौं सवारीसाधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र हिँड्न दिने पनि भनेको छ ।

एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूललगायतका सामग्री बोकिएका गाडीले भने बिना पास नै आवागमन गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस