
काठमाडौं । मुलुक अहिले बन्दाबन्दीमा छ । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट नेपालमा पनि संक्रमितहरूको संख्या दिनप्रतिदिन बढ्न थालिसकेको छ । कोभिड–१९ बाट हुने असरलाई नियन्त्रण गर्न उपचारका विभिन्न (औषधि तथा भ्याक्सिन) उपायहरूको अन्वेषण तथा अनुसन्धान भइनै रहेका छन् । यद्यपि हालसम्म यसको उपचारमा प्रयोग हुने औषधि भने बनिसकेको अवस्था छैन । घरमै बसेर हामी नेपालीमात्र होइन, सम्पूर्ण विश्वले नै कोभिड–१९ को सामान गरिरहेको छ ।
विश्वका धनी र साधन स्रोत सम्पन्न देशले गरेका अनुसन्धान समेत फेल भइरहेको यो अवस्थामा नेपाल जस्तो गरिब देशले लकडाउनको परिपालना गर्दै सुरक्षित बस्नु बाहेक अन्य विकल्प छैन । हाम्रो जस्तो स्वास्थ्य पूर्वाधार, संयन्त्र, उपकरण तथा सुविधाहरू कम भएका देशहरूका लागि लकडाउन नै सबैभन्दा उपयुक्त विकल्प हो । अहिले कोरोना भाइरसले सारा विश्वमा नै कसैले नचिताएको असर पार्न थालेको छ ।
मै हुँ भन्ने धनी, शक्तिशाली अमेरिका, युरोप, रुस, चीन, भारत जस्ता देशहरूलाई यो भाइरसले घुँडा टेकाइ दिएको छ । विश्वको अर्थतन्त्र नै तहसनहस बनाएको छ । बीबीसीले गरेको एक अध्ययनले कोरोनाका कारण विश्वको अर्थतन्त्रमा ९० खर्ब अमेरिकी डलर नोक्सान पर्ने देखिएको छ । त्यसले यसले दीर्घकालीन आर्थिक, सामाजिक र राजनीतिक असर पुर्याउने निश्चित छ ।
देशमा सञ्चालित विभिन्न उद्योग धन्दा, व्यापार÷ व्यवसायहरूको कारोबारहरूमा यसको नकारात्मक प्रभाव पर्ने प्रष्ट भइसकेको छ । हामीहरू कसैले पनि जिन्दगीमा कहिले नदेखेकोे महामारी रोगको स्वरुप अहिले हामीले देख्दै र भोग्दैछौं ।
यही सन्दर्भमा विश्वमा सुनको भाउ विस्तारै उकालो लाग्न थालेको छ । नेपालको सुन बजारमा २०६९ सालमा प्रतितोला सुन सबैभन्दा महँगो भाउ ७३ हजार ५ सय रुपैयाँमा कारोबार भई नयाँ रेकर्ड कायम भएकोमा २०७६ साल फागुन २७ गते प्रतितोला सुनको भाउ घरेलु बजारमा ८२ हजार ७ सय पुगेर यस अघिको रेकर्ड ब्रेक भयो ।
चैत्र ११ गतेबाट नेपालमा लकडाउन शुरु भयो । हामी बन्दाबन्दी मै छौं । तर, यही समयमा अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दो क्रममा रहेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको भाउ १७ सय ५४ अमेरिकी डलरसम्म पुगेको छ । यो मूल्यलाई नेपाली मुद्राको विनिमय दर १ सय २० अनुसार हिसाब गर्दा नेपाली बजारमा प्रतितोला सुनको भाउ ९० हजार भन्दा माथि पुगेको छ । यो भाउ नेपाली सुन बजारको इतिहासमा सबैभन्दा बढी हो ।
यस्तो किन भइरहेको छ ? किन सुनको भाउ बढाउने श्रृंखला विश्व बजारमा चल्दै छ ? यसको मुख्य कारणहरू र यसले विश्व अर्थतन्त्रमा पारेको असर र नेपाली सुन बजार र अर्थतन्त्रमा पार्ने असरका बारेमा हामी चर्चा गर्न गइरहेका छौं ।
सुनको परिदृश्यः
विश्वको अर्थतन्त्रमा सुन हजारौं वर्ष पहिलादेखि नै सम्पत्तिका रुपमा संरक्षित गर्ने प्रचलन रहेको छ । विभिन्न सम्यताहरूको विकास क्रमसँगसँगै धनको संग्रह र अर्थतन्त्रको पनि विकास हुँदै आएको छ । मुद्राको आविस्कार भए पछि सबै भन्दा पहिले मुद्रा निष्काशन गर्ने देश चीन हो । युरोपमा पनि विभिन्न किसिमका मुद्राहरूको प्रचलन रहेको इतिहास युरोपका मुद्रा संग्रहालयहरूको अध्ययनले देखाउँछ ।
त्यो समयमा पनि सबैभन्दा बढी रुचाइएको धनको स्वरुपसुन नै थियो । यो कहिले पनि ननासिने, चमकदार, पवित्र र मूल्यवान धातु हो भन्ने ज्ञान हुनासाथ अधिकांश सभ्यतामा सुनको संग्रह गरिएको पाइन्छ । विभिन्न सभ्यताहरूको अर्थतन्त्रहरू सुनबाटै चलेकाको इतिहास अध्ययन गर्दा देख्न सक्छौं । जुन शासक वा सभ्यतासँग सुनको संग्रह भयो त्यो शासक वा सभ्यता धनी, सम्पन्न र शक्तिशाली मानिन्थ्यो ।
आधुनिक समयमा अर्थशास्त्रमा धनको परिभाषा अर्थशास्त्रीहरू मध्य एडम स्मीथले ‘वेल्थ अफ नेशन्स’मा र जर्मनी दार्शनिक कार्ल माक्र्सले ‘दास क्यापिटल’ को रचनाहरूमा पनि देश तथा राज्यहरूको अर्थतन्त्र निर्माण गर्ने विभिन्न विधिहरू र धनको परिभाषाहरू आ–आफ्नै सिद्धान्त अनुसार परिभाषित गरेका छन् ।
जुनसुकै सिद्धान्त अनुसार अर्थशास्त्रको अध्ययन गर्दा पनि धनको विशेष महत्व रहेको छ र धनको वितरण गर्ने प्रणाली र सिद्धान्तहरू मात्र फरक– फरक रहेको पाइन्छ । सिद्धान्तमा समाजवादी वा पुँजीवादी भनेर फरक देखिएपनि धन र अर्थको महत्व विश्वको अर्थतन्त्रमा देखिन्छ । अहिलेको विश्वमा पनि सम्पत्ति र धनको विभिन्न औजारहरूमध्य सुनको महत्वपूर्ण स्थान रहेको छ । सुनले संसारको अर्थतन्त्रमा महत्वपूर्ण स्थान लिई नै रहेको छ ।
आर्थिक प्रभावः
पहिलो विश्वयुद्धसम्म संसारको अर्थ व्यवस्था बेलायतको बाहुल्यतामा थियो । साम्राज्यबादको प्रयोग गर्दै धेरै उपनिवेशहरू मार्फत संसार नै बेलायत अधिनमा रहेको जस्तो देखिन्थ्यो । धेरै देशहरूको सम्पत्ति लन्डनमा थुप्रिएको थियो । बेलायतको पाउण्ड सबै भन्दा बलियो मुद्राको रुपमा प्रचलनमा रहेको थियो ।
दोश्रो विश्वयुद्धमा बेलायतलगायत युरोपमा हिटलरको आक्रमण भए पछि सबै युरोप नै हिटलरको कब्जामा थियो । त्यहाँ भएका सम्पत्तिहरू कब्जा गर्दै दोस्रो विश्वयुद्धमा जर्मनी मुख्य लडाकु देश भएको थियो । इतिहासको अध्ययन गर्दा दोस्रो विश्वयुद्धमा हिटलरलाई पराजित गरिसके पछि सम्पूर्ण युरोपको सुनहरू अमेरिकामा लगियो ।
जर्मनी, फ्रान्स, बेलायतलगायतका देशहरूले आ–आफ्नो देशमा भएका सुनहरू अमेरिकाको ‘फोर्ट नोक्स’ भन्ने स्थानमा भण्डारण गर्ने र अमेरिकी डलरलाई विश्वव्यापी रुपमा सर्वस्वीकार्य मुद्राको रुपमा प्रचलनमा ल्याउने सम्झौता गरियो । अहिले पनि हामीले विश्व अर्थतन्त्रमा डलरलाई सर्वस्वीकार्य मुद्राको रुपमा स्वीकार गरेका छौं ।
इतिहासमा विश्व अर्थतन्त्रको झलकः
सन् १९१३ मा अमेरिकामा फेडरल रिजर्भ बैंक अफ अमेरिकाको स्थापना भयो । यसको प्रमुख उद्देश्यमा रोजगारीमा वृद्धि, मूल्य स्थायित्व र दीर्घकालीन रुपमा ब्याजदरलाई नियन्त्रणमा राख्नु रहेको थियो । त्यसपछि बैंकहरूलाई सुपरिवेक्षण गर्ने, नियमन गर्ने, संस्थागत डिपोजिटहरू लिने र अर्थ व्यवस्थालाई स्थायित्व दिने थप अधिकार पनि यसले पायो ।
यसको स्थापना पछि अमेरिका विश्व अर्थतन्त्रमा शक्तिशाली नेतृत्व गर्ने राष्ट्रको रुपमा उदाएको हो । आधुनिक विश्वको अर्थतन्त्रमा सुनको प्रयोग पनि अमेरिकी डलरको प्रयोग सँगसँगै हुँदै आएको हो । सन् १९७१ सम्म अमेरिकामा डलर(कागजी नोट)मा लेखिए जति रकमको भुक्तानी सुनबाट गरिने गरिन्थ्यो । फेडरल रिजर्भ बैंकले प्रत्याभूति दिइएको डलर प्रचलनमा रहेको थियो ।
डलरलाई सुनको बराबर मान्यता दिई चलन चल्तीमा ल्याइ त्यसलाई ‘गोल्ड स्टाण्डर्ड’ को रुपमा विश्वले नै मान्यता दिएको थियो । त्यति बेलासम्म सुनको मूल्य ३५ डलर प्रति औंन्स रहेको थियो । सन् १९३३ मा ‘फ्रायन्कलिन डी रुजवेल्ट’ले सुनसँग डलरको सम्बन्धमा कमी गर्न र सुनको मौज्दात बढाउन अमेरिकी जनतासँग रहेका ढिका सुन, गहना, असर्फीलगायतका सुनहरूलाई सोही मूल्यमा लिएर जनताले सुन राख्न नै नपाउने कानुन बनाए ।
त्यसको २ बर्ष पछि ‘ब्रिटन ऊड’ सम्झौता गरि विश्वका प्रमुख राष्ट्रहरूसँग विश्वको आर्थिक प्रणालीको जग राखे । डलरलाई विश्वको मुख्य मुद्राको रुपमा प्रयोग गरि चलनचल्तीमा ल्याउन डलर छाप्दा त्यसको मूल्य बराबरको सुन रिजर्भमा राखी सुनको ग्यारेन्टी भएको सुरक्षित मुद्राको रुपमा निष्कासन गरिन्थ्यो ।
सन् १९७१ मा अमेरिकाका राष्ट्रपति रिचार्ड निक्सनले मुद्रास्फिर्तिलाई नियन्त्रणमा राख्न र मुद्राप्रदायलाई बढाउन चलनचल्तीमा रहेको ‘गोल्ड स्टाण्डर्ड’ लाई हटाइ ‘फियाट मुद्रा प्रणालीमा लगियो । त्यसपछि डलर छाप्दा त्यसलाई ब्याकअफ सुनलाई ढुकुटीमा राख्न छोडिएको हो । यसपछि विश्व बजारमा सुनको मूल्यमा वृद्धि आउने क्रम शुरु भएको हो ।
बासेल थ्रीको प्रभाव:
आधुनिक बैंकिङको नियमन र विश्वको मौद्रिक व्यवस्थालाई व्यवस्थित गर्न प्रमुख २८ वटा देशहरूको अगुवाइमा बासेल समितिको गठन गरि स्वीजरल्याण्डमा मुख्य कार्यालयको स्थापना गरियो । यसले विभिन्न समयहरूमा संसारका सबै रिजर्भ बैंकहरूलाई नयाँ नयाँ बैंकिङ सिद्धान्तहरू प्रतिपादन गरि प्रयोगमा ल्याउँछ र विश्वको अर्थ व्यवस्थालाई अझ बढी सुरक्षित, भरपर्दो बनाउने प्रयास निरन्तर गरिरहेको हुन्छ । सन २०१५ मा यस संस्थाले बासेल थ्री सिद्धान्त स्वेच्छिक रुपमा लागु गर्न निर्देशन गरेको छ ।
रिजर्भ बैंकहरूले आ–आफ्नो ढुकुटीमा विभिन्न टियर वान, टियर टू र टियर थ्री तीनखण्ड गरि विभिन्न विदेशी मुद्रा, बण्डहरू, सेक्यरिटीहरू, सुन लगायतका सम्पत्तिहरू राख्नु पर्ने व्यवस्था गरेकोमा डलर र अमेरिकी बण्डलाई पहिलो खण्डमा अनि सुनलाई तेस्रो खण्डमा स्थान दिइएको थियो ।
टियर वानमा अमेरिकी डलर, बण्ड लगायतका सम्पत्ति रहेकोमा अमेरिकाको ऋण २३ त्रिलियन डलर भन्दा बढी भइसकेको र फियाट मुद्राको रुपमा अमेरिकी डलरको अत्याधिक छपाइ भएकोले विश्वसनीयतामा कमी आउँदै गएकोले सन् २०१९ को सेप्टेम्बरदेखि डलर र बण्डलाई तेस्रो खण्डमा राखी त्यसकोे सट्टामा पहिलो खण्डमा सुन नै राख्नु पर्ने व्यवस्था लागु गरिएको हो ।
यसलाई सन् २०२२ को जनवरी १ सम्ममा अनिवार्य सबै देशका रिजर्भ बैंकहरूले लागु गर्नैपर्ने अवस्था छ । त्यसपछिको समयमा हामीहरूले विभिन्न देशहरूका रिजर्भ बैंकहरूले धमाधम सुन खरिद गरि आ–आफ्नो ढुकुटीमा सुनको मौज्दात बढाउँदै लगेको देख्छौं । युरोपका धेरैवटा देशहरूले सुन खरिद गरेका छन् भने एसियाका रसिया, चीन, भारत, इरान लगायतका विभिन्न देशका रिजर्भ बैंकहरूले सुनको मौज्दात बढाएका छन् ।
सुनको औद्योगिक प्रयोगमा वृद्धिः
धार्मिक, साँस्कृतिक, आर्थिक, सामाजिक प्रयोगहरूका अलावा अहिले विभिन्न नयाँ नयाँ ग्याजेटहरू बनाउने औद्योगिक उत्पादनहरूमा पनि सुनको प्रयोगहरू बढ्दै गइरहेको छ । एप्पल देखि विभिन्न मोबाइल तथा कम्प्युटर बनाउने कम्पनीहरूले वार्षिक सयौं टन सुनको उपयोग गर्दै आएका छन् ।
विश्वको अर्थ व्यवस्थामा अहिले क्रिप्टो करेन्सीहरूको पनि प्रयोग बढ्दै गएको छ । इरान, चीनलगायत रुसले विश्वमा नयाँ क्रिप्टो करेन्सीको शुरुवात गर्दैछन् र त्यसको लागि पनि सुनको ग्यारेन्टी दिने उद्देश्यले धमाधम सुनको भण्डारण बढाउँदै लगेका छन् ।
सुन भण्डारणको अवस्था:
कुनै व्यक्ति वा संस्थाले कारोबार गर्दा २÷४ किलोको कारोबार हुन्छ । तर, देश र रिजर्भ बैंकहरूले नै सुनको कारोबार गर्दा सयौं टन सुनको कारोबार हुन्छ । सुनको उत्पादन र सप्लाइ सीमित मात्र छ । वल्र्ड गोल्ड काउन्सिलको रिपोर्ट अनुसार सन २०१९ मा ६५०.३ टन सुनको मौज्दात रिजर्भ बैंकहरूले थपे र यो विगत ५० वर्षमा सबैभन्दा बढि गरिएको खरिद हो ।
त्यस्तै विश्वको अर्थतन्त्रमा यस वर्ष आर्थिक मन्दी हुने विभिन्न संकेतहरू देखिइरहेकोमा कारोना भाइरसका कारणले विश्वको अर्थतन्त्रमा नचिताएको मन्दी आउनु र शेयर बजारहरू ध्वस्त भई लगानीहरूमा धेरै ठूलो नोक्सानीहरू बेहोर्नु पर्दा लगानीको सुरक्षाको लागि पनि सुनमा लगानी बढ्न गएको अवस्था छ । गत वर्ष १४ सय डलरको औसत रहेको सुनको भाउ अहिले १७०० डलर भन्दा बढी पुगेको छ ।
डलरको मूल्यमा वृद्धिः
भारतीय अर्थतन्त्रमा वैदेशिक लगानीहरूलाई डा.मनमोहन सिंह अर्थमन्त्री भएको बेलादेखि खुला गरिएकोले भारतमा वैदेशिक लगानीको ठूलो मात्रा रहेको छ । अहिलेको महामारी र शेयरबजारमा घाटा हुनाले धेरै वैदेशिक लगानीहरू फिर्ता गएको छ । त्यसैले भारतमा अमेरिकी डलरको ठूलो माग बढेको छ । त्यसकारण भारतीय रुपैयाँको अबमूल्यन भई डलरको मूल्य बढेको छ ।
नेपालको मुद्रा भारतीय रुपैयाँसँग गाँसिएको र स्थिर विनिमय दर भएको कारणले भारतीय मुद्रा कमजोर भयो । नेपाली मुद्रा पनि कमजोर हुन्छ । त्यसैले यसपाली भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर भई ऐतिहासमै १ सय २३ रुपैयाँसम्म डलरको मूल्य कायम भएको छ । यता विश्व सुनको बाजर भाउमा वृद्धि हुनु अनि नेपाली रुपैयाँ पनि कमजोर हुँदै जानले नेपाली सुनको बजारमा चौतर्फी दवाव परेको छ । त्यसैको कारणले अहिले नेपाली सुनको बजारमा सुनको भाउ क्रमशः उकालो लाग्दै छ ।
अन्तमा,
दिनदिनै नयाँ रिकर्ड कायम गर्दै अगाडि गइरहेको सुनको भाउ अब कतिसम्म पुग्ला ? यो सबैको मनमा उत्सुकता हुनु स्वाभाविक छ । माथि उल्लेख गरिएका सबै कारणहरूलाई मसिनो गरि केलाई विश्लेषण गर्दा अबका दिनमा नेपालीहरूले सुनको मूल्य सुनेर तर्सिनु पर्ने अवस्था आउँदै छ । नेपाल एउटा गरिब देश भएको र नेपालीहरूको क्रय क्षमता पनि सीमित रहेको तथ्य सबैले बुझेकै हो ।
सन् २०११ को मन्दीमा सुनको भाउ १९ सय डलर भन्दा माथि पुगेको थियो । अहिले भर्खर १७ सय ३५ डलर भन्दा माथि पुगेकोमा हाम्रो बजारमा भाउ ८६ हजार भन्दा माथि पुगेको छ । १९०० डलर पुग्यो भने कति पुग्ला ? २ हजार डलर भयो भने कति पुग्ला ?
विभिन्न अर्थशास्त्रका विज्ञहरूले सुनको भाउ यो स्तर भन्दा पनि बढ्न सक्ने कुराहरू अनुमान गर्दै छन् । यी सबै आउँदो समयमा हामीहरूले अवश्य हेर्न पाउने नै छौं । तर, एउटा कुरा चाहि स्पष्ट छ, त्यो के भने सुन सस्तो हुने सम्भावना कम छ र यस्को मूल्य बढने सम्भावना निकै बढी छ ।
(लेखक शाक्य नेपाल सुनचाँदी व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्ष हुन् ।)
प्रतिक्रिया दिनुहोस