aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

ट्रम्प र मोदीबीच फोनवार्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ जेठ २०७७
ट्रम्प र मोदीबीच फोनवार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच शुक्रबार साँझ फोनवार्ता भएको छ । प्राप्त समाचारअनुसार उनीहरुबीचको फोनवार्ताका क्रममा पछिल्लो समयमा अमेरिका र भारतले कोभिड १९ संक्रमणका विरुद्धमा गरिरहेको संघर्षका बारेमा कुराकानी भएको छ ।

त्यस फोनावार्ताका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारत अमेरिकाको एक असल मित्र राष्ट्र भएको बताएका छन् ।  अमेरिकामा राष्ट्रपति ट्रम्पले त्यहाँ रहेका भारतीय अमेरिकीहरुलाई सन्देश दिने क्रममा सो धारणा राखेका छन् । वासिङ्टनमा सम्वाददाताहरुसँग राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच आफ्नो शुक्रबार साँझ नै फोनवार्ता भएको बताएका थिए । 

त्यसक्रममा राष्ट्रपति ट्रम्पले भारतीय मूलका अमेरिकी नागरिक तथा सम्वाददाताहरुसँग भने- ‘तपाईँहरुका प्रधानमन्त्री नरेन्द्र मोदी मेरा एक असल मित्र हुनुहुन्छ, हाम्रो आज मात्र पनि कुराकानी भएको थियो ।  भारत अमेरिकाको एक असल मित्र राष्ट्र हो’ अमेरिकी राष्ट्रपति ट्रम्पले त्यस अवसरमा भनेका थिए । उनले भनेका थिए– ‘हामी दुवै देश यतिखेर कोभिडको महामारीका विरुद्धमा लडिरहेका छौँ र हामीले यस महामारीविरुद्धमा विजय प्राप्त गर्नका लागि एक आपसमा सद्भाव र शुभकामना पनि साटासाट गरेका छौँ ।’ 

अमेरिकाले भारतसँग निकै नजकिको सम्बन्ध कायम गरेर सहमति र सहकार्य गरिरहेको पनि उनले जानकारी दिनुभएको समाचारमा बताइएको छ ।  राष्ट्रपति ट्रम्पले त्यस अवसरमा अमेरिकामा ठूलो संख्यामा भारतीय नागरिकहरु बसिरहेको र उनीहरु र अमेरिकी नागरिकबीच असल सम्बन्ध पनि रहेको बताए । उनले कोभिडका विरुद्धमा पनि अमेरिका र भारतले आपसमा मिलेर सहकार्यका साथ काम गरिरहेको भन्दै यस महामारीका विरुद्धमा भारतीय र अमेरिकी वैज्ञानिकहरु मिलेर खोप पत्ता लगाउने कार्यमा पनि लागिपरेको जानकारी गराएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्प यसैवर्षको फेबु्रअरीमा आफ्ना परिवारसहित भारतको भ्रमणमा आएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गत वर्ष अमेरिकाको भ्रमण गरेका थिए ।  कोभिड १९ को महामारी सुरु भएपछि पनि भारतले अमेरिकालाई केही औषधीहरु सहयोग गरेको थियो । त्यस सहयोगले पनि अमेरिका र भारतबीचको सम्बन्ध एक आपसमा सुमधुर बनाएको बताइएको छ । 

यता भारत पनि पछिल्ला केही हप्तामा कोभिडको महारमारीको चपेटामा परेको छ । यहाँ आजसम्म ८५ हजार ९४० जना संक्रमित भएका छन् । त्यहाँ २ हजार ७०० भन्दा बढीको ज्यान गएको बताइएको छ ।  उता, अमेरिका यो महामरीबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ज्यान जाने नागरिकको संख्या ८८ हजार ५०७ जना पुगेका छन् । 

त्यसैगरी अमेरिकामा मात्र संक्रमणमा पर्ने नागरिकको संख्या १४ लाख ८४ हजार २८५ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । त्यसैगरी विश्वमा यस संक्रमणबाट ज्यान जानेको संख्या ३ लाख ८ हजार ६७६ जना रहेको छ । त्यसैगरी यस संक्रमणका पूरै संक्रमितको संख्या भने ४६ लाख २९ हजार ४०७ जना पुगेको प्राप्त पछिल्लो समाचारमा बताइएको छ । 

–एएनआई
 

प्रतिक्रिया दिनुहोस