
काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलाको कोरोना परिक्षणको रिपोर्ट आइनसकेको बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो वा होइन भन्नेबारे सरकारले अध्ययन गरिरहेको बताएका हुन् ।
प्रवक्ता देवकोटाले भने, ‘उनमा कोरोनासंग मिल्दो जुल्दो लक्षण भएपनि अहिले नै कोरोनाका कारण मृत्यु भएको हो भन्न सकिन्न । पीसीआर परिक्षण हुँदैछ यसको रिपोर्ट आउन बाँकी छ ।’ देवकोटाले ती महिलाको मृत्युबारे थप अनुसन्धान र विवरणहरु संकलन गरिरहेको र उनको कोरोना संक्रमणकै कारण मृत्यु भएको हो वा होइन भन्नेबारे पछि सार्वजनिक गरिने जानकारी दिए। ‘ती सुत्केरी महिलाको के कारणले मृत्यु भएको हो भन्नेबारे हामी थप विवरणहरु संकलन र अनुसन्धानहरु गर्दैछौँ, यसबारे थाहा भएपछि हामी फेरि जानकारी गराउनेछौँ,’ डा. देवकोटाले भने।
केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो। स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको बिहिबार राति मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस