
महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको नेपाली सेनाका मध्यपृतनालाई सिल गरिएको छ । पृतनापतिमै कोरोना संक्रमण देखिएपछि पूरै ब्यारेकलाई सील गरिएको हो । सेनाका पृतनापतिमा संक्रमण देखिएका कारण बर्दिबासको किसान नगरमा लगभग दुई हजार सेना भएको व्यारेकलाई सील गरिएको प्रशासनले जानकारी दिएको छ ।
पृतनापतिसँगै सोही ब्यारेकका एक चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो । महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । ब्यारेकमा गण, गुल्म, सिग्नल गण, मेडिकल गण, विद्यालय गण लगायत पृतना लगाएर दुई हजारको संख्यामा सेनाहरु रहेका छन् ।
संक्रमण बढ्न नदिनका लागि सेनाहरुलाई आवतजावतमा रोक लगाइनुका साथै सामाजिक दूरी कायम राख्नका लागि भनिएको छ । संक्रमित दुवैजनालाई उपचारका लागि काठमाडौँस्थित सशस्त्र प्रहरी बलम्बुस्थित आइसोलेशनमा ल्याइएको छ । संक्रमित दुवै जना प्रदेश दुईको विभिन्न स्थानमा गएर स्वाब संकलनमा खटिएका थिए ।
प्रतिक्रिया दिनुहोस