aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा  दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा विशेष अदालतमा चार जनाविरुद्ध मुद्दा दायर गरेको हो । 

नेपाल विद्युत् प्राधिकरणको हेटौंडा शाखाका हेल्पर धनबहादुर रुम्बाविरुद्ध पनि मुद्दा दायर भएको छ । उनले ८ कक्षा पासको नक्कली प्रमाणपत्र बनाएको आरोप छ । त्यो प्रमाणपत्रका आधारमा उनले सुरुमा प्राधिकरणको कुल्ली पदमा नियुक्ति पाएका थिए ।

त्यस्तै, ललितपुरको शान्ति विद्याश्रम उच्च माविका प्रधानाध्यापक दिव्यमणि ज्ञवालीलाई नक्कली प्रमाणपत्र पेस गरेको आरोप लागेको छ । उनले सेवामा प्रवेश गर्दा आईएस्सी र बीएस्सीको भारतीय नक्कली प्रमाणपत्र पेस गरेको अख्तियारको आरोप छ । ज्ञवालीले भारतको विहारबाट ती नक्कली प्रमाणपत्र ल्याएको अख्तियारले जनाएको छ ।

त्यसैगरी अख्तियारले असई राजनसिंह भण्डारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले माध्यमिक तहको प्रमाणपत्र भारतबाट किनेको अख्तियारको आरोप छ । विद्युत् प्राधिकरणकै इलेक्ट्रिसियन शंकर थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीमाथि ५ कक्षाको नक्कली प्रमाणपत्र बनाएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस