aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

चन्द्रागिरि नगरपालिका सिल गरेर कोरोना परीक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ जेठ २०७७
चन्द्रागिरि नगरपालिका सिल गरेर कोरोना परीक्षण

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिका सिल गरेर कोरोना परीक्षणलाई तीव्रता दिएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपाभित्र कोरोना सङ्क्रमित देखिएपछि जेठ ७ गते बिहानसम्मका लागि नपा सिल गरेर कोरोना परीक्षणलाई तीव्रता दिएको हो । चैत ७ गते बिहानसम्म विभिन्न जिल्लाबाट चन्द्रागिरिमा आएका कोही पनि व्यक्तिलाई प्रवेश गर्न दिइनेछैन भने घरभित्र भएका व्यक्तिलाई घरबाहिर निस्कन बन्देज गरिएको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले बन्दाबन्दीको समयमा विभिन्न जिल्लाबाट चन्द्रागिरि आएका व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका सिल गरेर कोरोना परीक्षणको दायरा बढाइएको जानकारी दिए । ‘चैत ११ गते देशभर बन्दाबन्दी भएदेखि विभिन्न जिल्लाबाट चन्द्रागिरि आएका एक हजार व्यक्तिको आरडिटी परीक्षण गर्न लागेका छौँ’, उनले भए । चन्द्रागिरि नगरपालिकाले विभिन्न जिल्लाबाट बन्दाबन्दीको समयमा चन्द्रागिरिमा आएका व्यक्तिको लगत सङ्कलन गरिरहेको छ ।

चन्द्रागिरीले सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा दैनिक २५ देखि ३० जनाको पिसीआर र आरडिटी परिक्षण गर्दै आएको छ । हालसम्म चन्द्रागिरि नगरपालिकाले ५०० भन्दा धेरै व्यक्तिको पिसीआर र आरडिटी परीक्षण गरिसकेको नगरप्रमुख गिरीको भनाइ छ । पछिल्लो समय बन्दाबन्दी शुरु भएदेखि बारा, मकवानपुर, धादिङलगायत जिल्लाबाट चन्द्रागिरिमा आएका पाँच जनालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

चन्द्रागिरिले कोरोना भाइरसको जोखिमयुक्त क्षेत्रबाट आएका व्यक्तिलाई प्राथमिकतामा राखेर कोरोना परीक्षण गर्ने भएको छ । यस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधीको समेत कोरोना परीक्षण गरिने नगरपालिकाले जनाएको छ । वाग्तमी प्रदेशकै सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको चन्द्रागिरिमा १५ वडा छन् । चन्द्रागिरिले विभिन्न जिल्लाबाट बन्दाबन्दीको समयमा चन्द्रागिरीमा आएका व्यक्तिको जानकारी नगरपालिकालाई दिन आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस