aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दूधमा आत्मनिर्भर बन्दै चितवन

  • रासस
    रासस
  • शुक्रबार, १० जेठ २०७६
दूधमा आत्मनिर्भर बन्दै चितवन

काठमाडौं ।  चितवन जिल्ला दूधमा आत्मनिर्भर बन्दै गएको छ ।  दुग्ध उत्पादक सहकारी, स्थानीय सरकार, पशु विज्ञ केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाको उपस्थितिमा दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर घोषणा गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको हो । 

कृषि तथा पशुपक्षीको क्षेत्रमा आत्मनिर्भर जिल्लाको रूपमा रहेको चितवनले उत्पादन गरेको दूध बाहिरी जिल्लामा समेत निर्यात गर्दै आइरहेको छ ।

चितवनमा उत्पादन हुने दूधको ४० प्रतिशतभन्दा बढी बाहिरी जिल्लामा पठाउने गरिएकाले दूधमा आत्मनिर्भर जिल्ला घोषणाको तयारी तीव्र पारिएको चितवन जिल्ला दूध उत्पादक सहकारी सङ्घले जनाएको छ । 

चितवनमा अन्य जिल्लामा भन्दा बढी दूध उत्पादन हुँदासमेत आत्मनिर्भर जिल्ला घोषणा नगरिएकै कारण सरकारको आँखामा पर्न नसकेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको भनाई छ ।  दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरेपछि विभिन्न सङ्घसंस्था तथा सरकारबाट समेत अनुदानका कार्यक्रम आउने व्यावसायिको भनाई छ । 

चितवनलाई दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाएसँगै यहाँका किसानलाई समेत आत्मनिर्भर बनाउनुपर्नेमा व्यावसायिको भनाई छ  । दूधको उत्पादनभन्दा बिक्री मूल्य थोरै हुनु, अनुदान कुम्ल्याउनका लागि किसान बन्नेजस्ता समस्या समाधान गर्न सकेको खण्डमा मात्रै किसानसमेत आत्मनिर्भर हुने उनिहरुको भनाइ छ । 

सङ्घका अनुसार जिल्लामा दैनिक तीन लाख लिटर दूध उत्पादन हुन्छ भने १३७ दुग्ध उत्पादक सहकारी सङ्घसंस्था रहेका छन् । भरतपुर महानगरपालिकामा ५२, रत्ननगर नगरपालिकामा २१, कालिका नगरपालिकामा आठ, खैरहनी नगरपालिकामा २३, राप्ती नगरपालिकामा छ र माडी नगरपालिकामा एउटा मात्र दुग्ध सहकारी सङ्घ छन् । चितवनका सहकारीमा सङ्कलन भएका दूध काठमाडौँ, पोखरा, हेटौँडालगायतका शहरमा पुग्छ ।

चितवनका किसानले दूधको मूल्य नपाएको भन्दै विभिन्न समयमा सडकमा नै दूध पोखेर सरकारको ध्यानाकर्षण गर्दै आएका छन् । असली किसान पहिचान गर्दै उनीहरुलाई अनुदान दिएर भए पनि यस पेशामा टिकाउनसमेत जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गर्न लागिएको अगुवा किसान बताउँछन् । सरकारले देशलाई नै अण्डा, मासु र दूधमा आत्मनिर्भर बनाउने घोषणा गरिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस