
काठमाडौं । नेपालले जारी गरेको नयाँ नक्सा आफुले स्वीकार्य नगर्ने कुरा भारतले बताएको छ । नेपाल सरकारले बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि त्यससम्बन्धमा प्रतिक्रिया दिंदै भारतले विरोध गरेको हो ।
नेपालले गरेको दाबी बनावटी भएको भन्दै भारतले यो स्वीकार्य नहुने बताएको हो । नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गर्दै भारतीय विदेश मन्त्रालयले बुधबार मन्त्रालयका प्रबक्ता मार्फत आफ्नो असहमति सार्वजनिक गरेको हो । संचारमाध्यमको लागि प्रतिक्रिया दिंदै मन्त्रालयका प्रबक्ताले वेब साइटमा लेखेका छन्, ‘एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन ।' भारतको थप टिप्पणी छ, 'यो सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित छ ।’
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सीमा विवादमा भारतको अडानबारे नेपाल जानकार रहेको समेत बताएका छन् । उनको भनाइ छ, ‘हामी नेपाललाई यस्तो अनुचित दाबी नगर्न र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्छौं।’
भारतले गत नोभेम्बरमा नेपालको भूमि समेत समेटेर नक्सा जारी गरेपछी यो समस्कोया बल्झिएको हो । समस्या समाधान गर्न नेपालले विरोध गर्नुका साथै कूटनीतिक नोट समेत पठायो । तर भारतले त्यसको बेवास्ता गर्दै सो भूमिमा बनाएको सडक उद्घाटन गरेपछि विवाद चर्किएको छ ।
नेपालले नयाँ नक्सा सार्वजनिक गर्ने बित्तिकै भारतले त्यो अस्वीकार्य भएको घोषणा गरेपछि अब यो समस्या अझ बढी जटिल बनेको कुटनीतिक जानकारहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस