
काठमाडौं । कोभिड–१९ को जोखिम बढ्दै गएपछि गृह मन्त्रालयले काठमाडौं, ललिपुर, भक्तपुर सहित उपत्यका सिल गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेक अन्य काममा उपत्यका प्रवेशमा निषेध गरेको हो । उपत्यका सिल गर्न आज बिहीबार सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।
उपत्यकाका जनप्रतिनिधिसँगको छलफलपछि गृहले यस्तो निर्देशन दिएको हो । जेठ १ गते छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेको छ । अब उपत्यका प्रवेशमा थप कडाइ हुने भएको छ ।गृहले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयन गर्न पठाएको पत्रमा काठमाडौं उपत्यका प्रवेशका सबै नाकाहरू अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न आग्रह गरिएको छ । यसका साथै लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न गृहले भनेको छ ।
‘नाका प्रवेशका स्थानीय तहहरु लगायत काठमाडौँ उपत्यकाका सबै स्थानीय तहहरूले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य सम्भाव्य स्थलहरुलाई क्वारेन्टाइन बस्ने व्यक्ति स्वयंमले क्वारेनटाइन खर्च भुक्तानी गर्ने गरी सम्भावित क्वारेन्टाइन प्रयोजनका लागि लागन संकलन र अन्य व्यवस्थापनको कार्य अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।
काठमाडौं उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयं आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्ट साथ काठमाडौँ उपत्यका प्रवेश अनुमतिका लागि माग गर्नुपर्ने छ ।
गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा जेठ १ गते बसेको बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख, उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस