
काठमाडाैं । वनस्पतिमा रुची राख्ने सिन्धुपाल्चोकको चौतारामा जन्मिएका वैज्ञानिक सरोजकुमार कसजूले नगरकोट क्षेत्रमा फेला पारेका बिरुवा विश्वमै नयाँ भएको पुष्टि भएको छ ।
कसजूले पत्ता लगाएको बिरुवाको नाम ‘थुनबर्जिया कसजूआना’ राखिएको छ । बेलायतको रोयल बोटानिक गार्डन एडिनबरा (आइबीजीई) ले बिरुवाको नाम राखेको हो । कसजूले आफूले देखेका, चिनेका बिरुवाहरुको तस्बीर खिचेर विभिन्न संस्थामा पठाउने गर्छन् । त्यसै क्रममा उनले झण्डै चार वर्षअघि एउटा नौलो तस्बीर खिचेर आइबीजीईमा पठाए ।
कसजूले पत्ता लगाएको बिरुवा नौलो भएका कारण आइबीजीईमा कार्यरत डा भाष्कर अधिकारी र जोन उडले त्यस बिरुवाको थप अध्ययन गरेर बेलायतबाट प्रकाशित हुने ‘क्यू बुलेटिन’ नामक जर्नलमा लेख छपाएपछि बिरुवाको औपचारिक पहिचान मिलेको हो ।
“संसारको विभिन्न देशमा नागरिक वैज्ञानिकले वनस्पति शास्त्रको अध्ययनमा निकै योगदान पु¥याएका हुन्छन्” आइबीजीईमा कार्यरत डा अधिकारीले भने, “तर नेपालमा नागरिक वैज्ञानिकले नयाँ प्रजातिको बिरुवा भेटाउने कुरा बिरलै हो, हामी कसजूप्रति आभारी छौँ ।”
विसं २०१४ माघ २५ गते चौताराको पुरानो बजारमा जन्मिएका उनले श्रीकृष्ण विद्याश्रममा प्रारम्भिक शिक्षा शुरु गरेको थियो । पद्मोदय माविबाट एसएलसी दिएका उनले अमृत साइन्स क्याम्पसमा आइएस्सी गरेका थिए । कसजूलाई सिन्धुपाल्चोकमै पहिलो पटक एसएलसी पहिलो श्रेणीमा उत्तीर्ण गर्ने व्यक्तिका रुपमासमेत चिनिन्छ ।
उनले त्रिभुवन विश्वविद्यालयबाट डीपीए र एमपीए गरेको हाे । विसं २०३३ बाट नेपाल वायुसेवा निगममा संलग्न कसजू त्यहाँको वाणिज्य विभागको निर्देशक थिए । ३८ वर्ष वायुसेवा निगममा काम गरी अवकाश प्राप्त उनी अहिले काठमाडौँको ज्ञानेश्वरमा बस्दै आइरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस