
काठमाडौं । सरकारले भारतसँगको सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने योजना नरहेको बताएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दैसरकारका प्रवक्ता अर्थ र सञ्चार मन्त्री युवराज खतिवडाले सुरूमा दुई पक्षीय वार्ताबाट समस्या समाधानको प्रयास गरिने बताए।
‘हामीले नक्सा जारी गरेका छौं। त्योसँग सम्बन्धित विवाद हुने विषय अहिले नै अन्तर्राष्ट्रियकरण गर्नेबारे सोचेका छैनौं,’ मन्त्री खतिवडाले भने,‘अहिले हामीले मित्र राष्ट्रसँग वार्ता गरेर समाधान खोज्ने हो। कूटनीतिक तवरबाट समाधान ननिस्किए त्यसपछि अरू के गर्ने भन्ने कुरा हुन्छ।’
नेपाली नक्सामा समेटिएको क्षेत्र फिर्ता ल्याउन नेपालसँग यथेष्ट प्रमाण रहेको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस