
काठमाडौँ । भारतको मिजोरम राज्यका पूर्व गभर्नर तथा पूर्व विदेशमन्त्री सुष्मा स्वराजका पति स्वराज कौशलले नायिका मनीषा कोइरालालाई नेपाल-भारत सम्बन्धमा किन चीन घुसाएको भन्दै प्रश्न गरेका छन् । नेपाल बिरुद्द आफ्नो ट्विटरमा निकै सक्रिय बनेका उनले नेपालको सार्वभौमिकता, अखण्डता, धर्म निरपेक्षता लगायतका धेरै विषयमा आपत्तिजनक प्रश्न उठाएका छन् ।
नेपालले नयाँ नक्सा जारी गर्ने निर्णय गरेकोमा खुसी व्यक्त गर्दै मनीषा कोइरालाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विटमा प्रतिक्रिया जनाएपछि भारतीय सञ्चारमाध्यम र नागरिक समेत उनी बिरुद्द आक्रोशित बनेका छन् । आफ्नो असन्तुष्टि व्यक्त गर्दै स्वराज कौशलले भावुक ट्विटरमा लेखेका छन्, ‘मेरी बच्ची म तिमीसँग विवाद गर्न सक्दिन । तिमीलाई मैले जहिले पनि आफ्नै छोरी जस्तो व्यवहार गरेँ । जब तिमीले हामीलाई ‘१९४२ अ लभ स्टोरी’को प्रिमियममा बोलाएकी थियौ मैले पुरै फिल्म हेर्न पाइन । हो, सुष्मा स्वराजले फिल्म हेरिन् अनि त्यो बेला बाँसुरी (सुष्मा र कौशलकी छोरी) तिम्रो काखमा थिइन् ।’
त्यसपछि अर्को पोष्टमा गरिएको प्रश्न भने आपत्तिजनक नै छ । जहाँ उनले सोधेका छन्, ‘भारतको नेपालसँग असहमति हुन सक्छ, नेपालको भारतसँग गम्भीर विषय हुनसक्छ । जे भएपनि त्यो नेपाल र भारत बिचको हो । तिमीले चीनलाई किन बिचमा ल्यायौ ? त्यो हाम्रो लागि खराब हो । अनि त्यो नेपालको लागि समेत ठिक होइन ।’
उनले अगाडी भनेका छन्, ‘जब तिमीले चीनलाई ल्यायौ तिमी हामीसँगको हजारौँ वर्षको बन्धन तोड्दै छौ । तिमी हाम्रो साझा इतिहास नष्ट गर्दैछौ । सबै भन्दा महत्त्वपूर्ण कुरा त तिमी आफ्नो सार्वभौम मुलुकको स्तर पनि घटाउँदै छौ ।’ उनी थप आपत्तिजनक बनेका छन्, ‘अब हामी हाम्रो दिमागबाट यो कुरा निकालौँ । नेपालको सार्वभौमिकता र अखण्डता पवित्र छ । हामीले त्यो अनन्त सम्म सम्मान गर्नुपर्छ ।’
उनले आफ्नो ट्विटमा मनीषाका पिता प्रकाश कोइरालासँगको सम्बन्ध र नेपालको राजनीतिमा उनको प्रत्यक्ष सहभागिताको समेत उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘भारतीयले बुझ्नुपर्छ कि विश्वको एक मात्र हिन्दु राष्ट्रलाई खत्तम गर्ने षड्यन्त्र थियो । तिनीहरूले माओवादीसँग सहकार्य गरे । तिनीहरूले प्रचण्ड र बाबुरामलाई यहाँ सुरक्षित घरमा राखे । तिनीहरूले एक मात्र हिन्दु राष्ट्र खत्तम गरे । उनीहरूको मिसन पुरा भयो ।’ उनी थप लेख्छन्, ‘परिणाम यो भयो कि कम्युनिष्टहरुले भारत बिरुद्द चीनलाई प्रयोग गरिरहेका छन् । वा, चीनले भारत बिरुद्द कम्युनिस्टलाई प्रयोग गरिरहेको छ । परिणाम परम्परागत रूपमा चीनको भारतसँगको सिमाना हिमालयसम्म थियो । अहिले चीनको भारतसँगको सिमाना वीरगन्जमा छ ।’
प्रतिक्रिया दिनुहोस