aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

अनौपचारिक क्षेत्रका ४४ लाख मानिसहरु पनि यसको प्रभावमा परिसके : गभर्नर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ जेठ २०७७
अनौपचारिक क्षेत्रका ४४ लाख मानिसहरु पनि यसको प्रभावमा परिसके : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै जाँदा चुनौती अझै बढेको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको ‘रोल अफ प्रोफेसनल एकाउन्टेन्ट्स इन बिजनेस कन्टिन्युटी, क्राइसिस म्यानेजमेन्ट एन्ड फाइनान्सिएल रिपोर्टिङः पोस्ट कोभिड १९ प्यान्डेमिक’ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले संक्रमित बढ्दा चुनौती थपिएको बताएका हुन् ।

गभर्नर अधिकारीले संकटपछि व्यवसाय सुचारु गर्न असाध्यै कठिन हुने बताएका छन् । मानव जीवनसँगै सम्पूर्ण व्यवसाय प्रभावित बनेको भन्दै अधिकारीले तिनीहरुलाई पूर्ववत् अवस्थामा फर्काउन लेखा व्यवसायीको योगदान महत्वपूर्ण हुने बताएका हुन् ।

अन्तर्राष्ट्रिय र आन्तरिक श्रम बजार साँघुरिँदै गएको भन्दै गभर्नर अधिकारीले यसले संकट बढाएको उल्लेख गरे । अधिकारीले अनौपचारिक क्षेत्रका ४४ लाख मानिसहरु पनि यसको प्रभावमा परिसकेको बताए । होटल र रेष्टुरेन्ट तथा समग्र पर्यटन क्षेत्रले अबको १÷२ वर्ष अझै ठूलो समस्या ब्यहोर्नुपर्ने उनले उल्लेख गरे ।

‘रेमिट्यान्स घट्न थालेकोले बैंक तथा वित्तीय संस्थामा तरलतादेखि बजारमा मागसम्म प्रभावित भएको छ,’ उनले भने ‘वैदेशिक रोजगारीमा रहेकाहरु फर्कने सक्ने भएकाले यसले बेरोजगारीको समस्या अझै बढाउँछ ।  अधिकारीले रेमिट्यान्समा आएको गिरावटसँगै बाह्य क्षेत्र सन्तुलनमा समेत असर गर्ने उल्लेख गरे।

गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले बजारको अवस्था सहज बनाउन मौद्रिक उपकरण जारी गर्ने जानकारी पनि दिएका छन् । उनले बैंक दर घटाउने निर्णय भइसकेको पनि उल्लेख गरेका छन् । उनले ब्याजको पुँजीकरण, ऋण वृद्धिलगायतका सुविधा पनि दिइने उल्लेख गरे ।
कार्यक्रमको सुरुमा आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रका महत्वपूर्ण पक्षहरुमा नराम्रो प्रभाव परेको बताए । ‘कोरोनाको प्रभावसँगै कतिपय उद्योग प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको र धेरैले रोजगारी गुमाउने अवस्था आएको छ,’ उनले भने ।

अर्थतन्त्रलाई बचाउन र भविष्यमा पुनरोत्थान गर्न चार्टर्ड एकाउन्टेन्टको महत्वपूर्ण भूमिका हुने उनले उल्लेख गरे । साना तथा मझौला उद्योगहरू पर्याप्त पुँजीको अभावबाट गुज्रने र त्यहाँ कार्यरत श्रमिक अझै जोखिममा पर्ने उनले भनाइ थियो ।

इन्टरनेशनल फेडेरेसन अफ एकान्टेन्ट्सका अध्यक्ष डा. इन्कि जुले आफ्नो संस्थाले अडिटिङ र रिपोर्टिङको कुनै निश्चित निर्देशिका जारी नगरे पनि सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले कोरोनाको वास्तविक प्रभावको अझै पहिचान नभएकाले यसका मापदण्डमा परिवर्तनका विषयमा पनि यकिन हुन नसक्ने उल्लेख गरे । अहिले इन्टरनेसनल एकान्टिङ स्टान्डर्डर्स बोर्डले जारी गरेको आईएफआरएस मापदण्ड कार्यान्वयनमा छ ।

इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्टस् इन्डियाका अध्यक्ष अतुलकुमार गुप्ताले कोरोना भाइरसको महामारीका कारण औद्योगिक र व्यावसायिक गतिविधि शिथिल भएको बताए । उनले औद्योगिक क्षेत्रलाई अहिले ठूलो सहयोगको आवश्यकता रहेको र आफ्नो क्षेत्रबाट आवश्यक सहयोग पुर्याउन सदस्यहरुलाई तालिम दिइएको उल्लेख गरे । अहिले प्रविधिको प्रयोग गरेर काम गर्नुपर्ने अवस्था रहेको र साइबर सुरक्षारमा ध्यान दिनुपर्ने बताए ।

छलफल कार्यक्रममा साफाका अध्यक्ष जिया अल मुस्तफा अवानले संकटको समयमा स्रोतको व्यवस्थापन असाध्यै जटिल हुने धारणा राखेका थिए । उनले दक्षिण एसियाली क्षेत्रमा साना तथा मझौला व्यवसाय धेरै भएकाले त्यस्ता व्यवसयका लागि राम्रो परामर्शको आवश्यकता पर्ने उल्लेख गरे ।

इंग्ल्याण्ड र वेल्सक चार्टर्ड एकाउन्टेन्टकी अध्यक्ष फिओना विकिल्सनले स्वास्थ्य संकट हुँदै अहिले विश्व आर्थिक संकटमा परेको बताइन् । उनले अहिलेको महामारीमा लेखा व्यवसायलाई व्यवस्थित बनाउनका लागि मार्गदर्शन तयार गरिएको जानकारी दिएकी छन् ।  उनले आफ्ना सदस्यहरुलाई सहजरुपले काम गर्न र महामारीमा कसरी काम गर्ने भन्ने विषयमा सुझाव पनि दिइरहेको उल्लेख गरिन् ।

कार्यक्रममा सिए अष्ट्रेलिया एन्ड न्युजिल्याण्डका अध्यक्ष पिटर रप, कापाकी कार्यकारी निर्देशक एलाइन हङ, सिपिए अष्ट्रेलियाका सल्लाहकार राम सुब्रमनियम, सीए बंगलादेशका उपाध्यक्ष सबिर अहमद, श्रीलंकाका चार्टर्ड एकाउन्टेन्ट डा.चमारा बन्दरा तथा आइक्यानका उपाध्यक्ष सीए मदनकृष्ण शर्माको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस