aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

घर भाडाको पहिलो शिकार होस्टल व्यवसाय बन्दै, घरधनीलाई उदार बन्न आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० जेठ २०७७
घर भाडाको पहिलो  शिकार होस्टल व्यवसाय बन्दै, घरधनीलाई उदार बन्न आग्रह

काठमाडौँ । वर्तमान लकडाउनमा घर भाडाको समस्याका कारण सर्वाधिक सङ्कटमा होस्टल व्यवसाय परेको देखिएको छ । विगतमा कसले बढी भाडा तिरेर घर लिने भन्ने प्रतिस्पर्धामा रहेका होस्टल व्यवसायीहरू दुई महिनाको लकडाउनमा व्यवसाय बाटै पलायन हुनुपर्ने बाध्यतामा पुग्दैछन् ।

काठमाडौँ लगायत देशका प्रमुख सहरमा १२ सय भन्दा बढी सङ्ख्यामा रहेका होस्टलहरुले महँगो घर भाडा तिर्दै आइरहेका थिए । तर, सरकारले लकडाउन घोषणा गर्नु पूर्व नै सबै शैक्षिक संस्था बन्द गरेपछि सङ्क्रमण फैलने जोखिम नियन्त्रणका लागि चैत्र ९ गते देखि देशभरका सम्पूर्ण होस्टल बन्द छन् । अत्यन्तै कम मूल्यमा उत्कृष्ट सेवा दिनुपर्ने बाध्यताले आर्थिक रूपमा कुनै पनि व्यवसायी बलियो बन्न नसकेको कारण नै अहिले दुई महिनामा नै होस्टल व्यवसाय धरापमा परेको व्यवसायीको भनाई छ ।

त्यसो त घर भाडा बाहेक अन्य कुनै ठुलो समस्या उनीहरूको सामुन्ने छैन । तर, जबसम्म सम्पूर्ण शैक्षिक संस्था खुल्दैनन् तबसम्म होस्टलहरुमा सेवाग्राही विद्यार्थी नआउने हुँदा त्यही घर भाडा नै गल पासो बनेको नेपाल होस्टल एसोसिएसनका अध्यक्ष भक्ति पाठक बताउँछन् । उनी भन्छन्, ‘यदि घर भाडा छुट नहुने हो भने यो व्यवसायमा भएको अर्वौँको लगानी पूर्ण रूपमा डुब्ने निश्चित छ ।’ एसोसिएसनले आफ्ना समस्या सरकार समक्ष लिखित रूपमा समेत राखिसकेको हुँदा सरकारले यो विषयमा गम्भीरतापूर्वक सुनुवाइ गर्नेमा उनी आशावादी देखिन्छन् । उनी थप्छन्, ‘कि सरकारले यो व्यवसायको समाजमा कुनै योगदान नै थिएन भन्न सक्नु पर्‍यो नत्र खुलेर सहयोग गर्नु पर्‍यो । हाम्रा माग धेरै छैनन् सरकारले घरधनीलाई भाडा छुटको लागी आव्हान गर्ने, व्यवसायीलाई सुलभ ऋण दिने र घरधनीलाई विभिन्न छुट (कम्पेन्सेसनको रूपमा) दिने गरिदिए होस्टल व्यवसाय मर्दैन ।‘

एसोसिएसनकी संस्थापक अध्यक्ष किरण राजभण्डारीले होस्टल व्यवसायीलाई दिएको सल्लाह स्पष्ट छ । उनी भन्छिन्, ‘यदि घर भाडा छुट नपाएको खण्डमा बरु घर खाली गरिदिनु बेस हुन्छ । बहाल नै घाटा सहन सक्ने व्यवसाय होइन होस्टल व्यवसाय ।’ एसोसिएसनको वर्तमान नेतृत्वलाई उनको सुझाव छ, ‘नेतृत्वले यो बेला सबै व्यवसायीलाई जोगाउनु पर्छ । होस्टल बन्द गर्ने साथीहरूको सामान कसरी सुरक्षित भण्डारण गर्ने भन्नेबारे योजना बनाउनु आवश्यक छ ।’ तर, सम्पूर्ण घरधनीलाई भाडा छुटको लागि आव्हान गर्ने र उनीहरूलाई त्यसमा सहमत गराउन पहल गर्ने कुरा प्राथमिकतामा राख्नुपर्ने उनी बताउँछिन् ।  

एसोसिएसनका पूर्व अध्यक्ष सुवास कोइराला समेत घर भाडा नै समस्या रहेको तर त्यही समस्या नै समाधान नभएमा होस्टल व्यवसायीहरू अब पलायन हुनुको विकल्प नरहेको बताउँछन् । घरधनीले समेत व्यवसायमा कुनै समस्या नआएको बेला होस्टल व्यवसायीले देखाएको इमानदारीको सम्मान गर्नुपर्ने उनको धारणा रहेको छ । कोइराला भन्छन्, ‘केही घरधनीले भाडा छुट गर्ने कुरा गरेका पनि छन् म उनीहरूको उदारताको प्रशंसा गर्छु । यदि कोही विवेकशील मानिस हो भने उसले यो बेलाको भाडा माग्दैन र माग्न मिल्दैन ।’

आम होस्टल व्यवसायीका घरधनीलाई कोइरालाले दिएको सल्लाह पनि रोचक छ । घरधनीलाई उनी भन्छन्, ‘यदि तपाइहरूले भाडा छुट दिएर होस्टललाई पुन सञ्चालनको अवसर दिनु भयो भने खुलेको मितिदेखिको बहाल पाउने कुरा निश्चित छ तर कडिकडाउ गर्ने हो भने घर खाली हुन्छ । अनि कोसँग भाडा माग्ने ? त्यसैले बिउ नै खाने नसोच्नुस्, फल्ने समय दिनुस् ।‘

वरिष्ठ उपाध्यक्ष अरुण पराजुली पनि घर भाडाको समस्या विकराल बनेको बताउँछन् । यदि घरधनीले समस्या नबुझ्ने हो भने ठुलो लगानी त डुब्छ नै यसले स्वयम् घरधनीलाई समेत आर्थिक नोक्सानी गर्ने कुरा उनीहरूले बुझ्नुपर्नेमा जोड दिन्छन् । उनको भनाई छ, ‘हामी त घर छाड्छौ, दायित्वबाट मुक्त हुन्छौँ । पछि फेरी व्यवसाय थाल्न गाह्रो छैन । तर, तुरुन्तै हामी जति नै भाडा तिरेर बस्ने वा व्यवसाय चलाउने कोही आउँदैन भन्ने कुरा घरधनीले बुझ्नु जरुरी छ । यदि हामीलाई छुट दिने हो भने हामी लकडाउन खुलेपछीको भाडा निरन्तर तिर्छौँ । यसरी दुवै पक्ष बाँच्न सक्ने अवस्था आउँछ । आफ्नो घरमा सञ्चालनमा रहेको व्यवसाय जोगाउनु घरधनीको पनि दायित्व, जिम्मेवारी र कर्तव्य हो ।’

हुन पनि बन्द अवधिको भाडा तिरेर होस्टल सञ्चालनलाई निरन्तरता दिने मनस्थितिमा होस्टल व्यवसायीहरू देखिँदैनन् । एसोसिएसनकी महासचिव रुपाली पौडेल उल्टै प्रश्न गर्छिन्, ‘तपाई नै भन्नु न, एक रुपैयाँ आम्दानी नभएको बेलाको दशौँ लाख भाडा तिरेर होस्टल थाम्ने कुरा सम्भव छ ? के आफ्नै होस्टल आफैले फेरी लाखौँ खर्चेर खरिद गरे जस्तो भएन त्यो ?’ उनको निष्कर्ष छ, ‘यदि घरधनीले उदारता नदेखाउने हो भने लकडाउन खुल्ने बित्तिकै धरै होस्टल बन्द हुँदैछन् । हामी त आफ्नो सामान लिएर निस्कन्छौँ अनि सुरु हुन्छ घर धनीको समस्या किनकि हामीले जति भाडा तिरेर तुरुन्तै त्यहाँ कोही बस्न त आउँदैन ।’ यसरी घर नै खाली गर्ने अवस्थामा पुगेका व्यवसायीलाई एसोसिएसनले गर्ने सहयोगको योजना बारे उनले बताइन्, ‘हामी व्यवसायीका सामानहरू सहज वातावरण नआउन्जेल कसरी र कहाँ सुरक्षित राख्ने भन्ने बारे सोचिरहेका छौँ ।‘ कुनै एक होस्टलमा सबैका सामान भण्डारण गर्ने, नजिकका होस्टल मर्ज गर्ने, कुनै पार्टी प्यालेस वा खुल्ला ठाउँमा होस्टलका सामान राखेर सुरक्षित गर्ने लगायतका विकल्पको नजिकमा होस्टल व्यवसायीहरू पुगेको उनले बताइन् ।

एसोसिएसन काठमाडौँ जिल्ला अध्यक्ष सुनिता लाकौल यो बेला घरधनीले मानवीयता देखाउनु पर्नेमा जोड दिन्छिन् । उनी भन्छिन्, ‘यदि आफ्नो व्यवसाय नै डुब्ने अवस्थामा रहेको होस्टल व्यवसायीको थोरैपनी मार्का नबुझ्ने हो भने नोक्सान उनीहरूलाई नै हुन्छ । त्यसैले घरबेटीले मानवीयता प्रदर्शन गर्ने र नोक्सान समेत जोगाउने यो अवसर हो ।‘ व्यवसायीलाई ठुलो क्षतिबाट जोगाउन भाडा छुट नदिने घरधनीको घर खाली गर्ने तर्फ सोच्न आफूले व्यवसायीलाई भन्न थालेको उनले बताइन् । उनीहरूलाई होस्टल व्यवसायबाट पलायन हुन नदिन होस्टलका सामानको उचित व्यवस्थापन कसरी गर्ने र पछि फेरी व्यवसाय सञ्चालनको सम्भावनालाई जीवितै राख्ने भन्नेबारे आफूहरू छलफल कै क्रममा रहेको उनले जानकारी दिइन् । कुनै विद्यालय, कलेज वा जमिन भाडामा लिएर सबैको सामान त्यहाँ राख्ने र सहज अवस्थाको प्रतीक्षा गर्ने विषयमा छलफल भइरहेको उनले बताइन् ।

चितवन जिल्ला अध्यक्ष प्रकाश राज पन्त लकडाउनले व्यावसायिक अनिश्चितता बढाएको बताउँछन् । यस्ता अवस्था अझै केही समयसम्म रहने हो भने होस्टल व्यवसाय पूर्ण रूपमा धराशायी हुने चिन्ता उनमा देखिन्छ । घर भाडाको समस्याबारे उनको बुझाई फरक छ । उनी भन्छन्, ‘हामीले आफू खुसी होस्टल बन्द गरेको हो र क्षति व्यहोर्न ? सरकारले लकडाउन लगाएको कारण हामी घर भाडा तिर्न नसक्ने भएका हौँ । यही कारण व्यवसायी पलायन हुनु परे त्यो राज्यको जिम्मेवारी हो ।’ घरधनीलाई उनको अनुरोध छ, ‘प्रतिस्पर्धामा अधिकतम भाडा तिरेकै थियौँ सहज अवस्थामा, अहिले छुट गर्नु भयो भने व्यवसायको निरन्तरता सम्भव छ । हामी पूर्ववत् फेरी बहाल तिर्नेछौँ ।’ व्यवसायीलाई उनको स्पष्ट सुझाव छ, ‘भुईँको टिप्न खोज्दा पोल्टाको पोखिन सक्छ । यदि घरधनी उदार बनेनन् र सरकारले समेत बेवास्ता गर्‍यो भने हाललाई व्यवसाय स्थगन गर्ने र पछि फेरी सुचारु गर्ने सोच नै व्यवहारिक ठहर्छ ।’

होस्टल एसोसिएसन ललितपुर जिल्ला कार्य समितिको कार्यवाहक अध्यक्ष निमा श्रेष्ठको घर भाडा कै समस्याले होस्टल व्यवसायी विस्थापित हुने अवस्था आउन नदिन सम्बद्ध सबै पक्ष सचेत रहनुपर्नेमा जोड छ । घरधनीले हालको अवस्था के हो र यसमा आफूले कसरी सकारात्मक भूमिका निर्वाह गर्न सक्छु भन्ने सोच्न उनले आब्हान गरेकी छिन् । उनको भनाई छ, ‘कोही न कोहिले त समस्या बुझिदिनु पर्छ । सरकारले कसरी यो व्यवसाय बचाउने सोच्नु पर्‍यो । घरधनीले उदारता देखाउनु पर्‍यो । नत्र हामी होस्टल बन्द गर्ने निर्णयमा पुग्नै पर्ने हुन्छ ।‘ उनले अगाडी थपिन्, ‘यो चाहना होइन तर बाध्यतालाई इच्छाले जित्नले जित्न नसक्दो रहेछ । हामी व्यवसाय बन्द गर्ने बाध्यतामा व्यवसायी नपुगुन् भन्ने चाहन्छौँ । यदि भाडाको समस्याले त्यहाँ पुग्नुपर्‍यो भने घरधनीलाई पनि आखिर नोक्सान नै हुने हो । खाली घरको भाडा आउँदैन भन्ने उहाँहरूले बुझ्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस