aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

सङ्क्रमित व्यक्ति सरकारी कर्मचारी, आवाससँगै चार कार्यालय सिल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ जेठ २०७७
सङ्क्रमित व्यक्ति सरकारी कर्मचारी, आवाससँगै चार कार्यालय सिल

डडेल्धुरा । डडेल्धुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ । शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएका उनी डडेल्धुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको खुलेको हो ।

डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका ती व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । परीक्षणपछि उनी स्क्रब टाइफसको औषधि लिएर अस्पतालबाट फर्किएका थिए तर पछि उनको कोरोना पोजेटिभ रिपोर्ट आएको हो । 

सङ्क्रमितसँग सम्पर्क आएका कर्मचारी, सञ्चारकर्मी, होटल सञ्चालक तथा डडेल्धुरा अस्पतालमा कार्यरत स्वाथ्यकर्मी र कर्मचारी गरी १५० जनाको स्वाब परीक्षण गरिएको छ । बीस जनाको आरडिटी गरिएको र चिकित्सकसहित सात जना अन्य आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए ।
 
जिल्लामा भारतबाट फर्किएका नागरिकलाई सबै स्थानीय तहले क्वारेन्टिनमा राखिरहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । डडेल्धुरामा सात स्थानीय तहका ३० हजार सङ्ख्यामा डडेल्धुराबाट भारत गएको तथ्याङ्क छ ।

बिहीबार २८८ जनालाई क्वारेन्टिनबाट घर पठाइएको छ । शनिबार ६२६ जिल्लाका सात स्थानीय तहको क्वारेन्टिनमा रहेको प्रजिअ पन्तले बताए ।

बाँकेका स्वास्थ्य सुरक्षाकर्मीमा पनि सङ्क्रमण
बाँकेमा कोरोना सङ्क्रमण रोकथामका लागि अग्रभागमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीमा पनि सङ्क्रमण देखिएको छ । नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत एक प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  

गाउँपालिकामा भेटिएका २७ सङ्क्रमितमध्ये एक प्रहरी जवान रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो । चौकीमा रहेका अन्य सुरक्षाकर्मीलाई क्वारेन्टिनमा आज पिसिआर परीक्षणको तयारी भएको छ । 

खजुरा गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमा पनि कोरोना सङ्क्रमण देखिएको छ । भारतबाट आएर क्वारेन्टिनमा बसेका खजुरा  –५ का एक युवकमा सङ्क्रमण देखिएको भोलिपल्ट स्वास्थ्यकर्मीमा सङ्क्रमण देखापरेको खजुराका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । 

नरैनापुरमा शनिबार कोरोना सङ्क्रमण देखिएका प्रहरीसहित २७ जनालाई नेपालगञ्ज ल्याएर खजुरास्थित कृषि अनुसन्धान केन्द्रमा तयार गरिएको आइसोलेशन केन्द्रमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । 

प्रहरी चौकी कालाफाँटा बन्द
कोहलपुर–   प्रहरीचौकीमा कार्यरत प्रहरीलाई कोरोना पोजेटिभ देखिएपछि प्रहरीचौकी  कालाफाँटा बन्द गरिएको छ । 
बाँकेको प्रहरीचौकी कालाफाँटामा कार्यरत २३ वर्षीय  एक जनालाई  कोरोना सङ्क्रमण देखिएपछि  प्रहरीचौकी कालाफाँटा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सिंहले जानकारी दिनुभयो । कालाफाँटा प्रहरीचौकीमा नौ जना कार्यरत छन् । 

प्रतिक्रिया दिनुहोस