aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
लकडाउन

२ महिनामा ७७ उडान, ६ हजार ४ सय २५ बाहिरिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ जेठ २०७७
२ महिनामा ७७ उडान, ६ हजार ४ सय २५ बाहिरिए

काठमाडौं । आज जेठ ११ गते लकडाउन घोषणा गरेकोे २ महिना पुगेको छ । सरकारले कोभिड–१९ को जोखिम न्यूनीकरण गरेको बन्दाबन्दीकै बीचमा ७७ उडान भएको छ । यहि अवधिमा ६ हजार चार सय २५ जना यात्रुहरूले विशेष उडानमार्फत यात्रा गरेका छन् । दुई महिनाको यो अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ७७  उडानमार्फत ८१ जना बालबालिका र ६ हजार तीन सय ४४ जनाले हवाई यात्रा गरेका हुन् ।

यहि अवधिमा त्रिभुवन विमानस्थलको प्रयोग गरेर ७ जना नेपाल आएका छन् । सरकारले उद्दार तथा काग्रो उडानबाहेक यात्रुबाहक विमान नेपाल आउने नदिने निर्णय पनि गरेको थियो । सो अवधिमा नेपालमा जापानबाट दुई जना सरकारी कर्मचारी र नेपालका लागि जापानका राजदूतका श्रीमान र श्रीमती नेपाल आएका भने बुद्ध एयरमार्फत् दुई जना र अर्को एक जना पनि नेपाल आएको विमानस्थल कार्यालयले जनाएको छ ।

लकडाउनमा नेपालबाट विश्वका विभिन्न देश जाने हवाई यात्रुलाई विशेष उडानमार्फत उडान गराइएको नेपाल नागरिक उड्डयान प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । लकडाउनसँगै बन्द भएका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान उद्दार र मेडिकल सामान ल्याउनका लागि भने प्राधिकरणले अनुमति दिएको प्रवक्ता क्षेत्रीले बताए ।

विशेष उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)बाट एक लाख ६० हजार ४ सय ८० टन सामन नेपाल भित्रिएको टीआईएका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए । यसैबीच नेपालबाट ८४ हजार १७५ केजी सामन बाहिरी देशमा गएको छ ।

सबैभन्दा बढी राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले उडान गरेको छ भने कतार एयरवेज, हिमालय एयरलाइन्स, चिनियाँ एयर फोर्स, मलेसियन एयरले नेपालमा उडान भरेका थिए ।  एयर अरेबिया, पाकिस्तान एयर, मालिन्दो एयर, एयर चाइन, इयर इन्डिया, थाई एयर, इतिहाद, श्रीलंका एयरवेज, टाइटन एयर र  कोरियन एयरलाइन्स जर्नी एभिएसन, रोयल फ्लाई एयरलगायतका एयरलाइन्सले नेपालबाट उडान भरेका थिए ।  

यो अवधिमा नेपाल एयरलाइन्सले अहिलेसम्म २०, हिमालय एयरलाइन्सले १४, कतार एयरवेज ११, बुद्ध र श्री एयरले ३÷३ वटा उडान गरेको छ ।
नेपाल एयरलाइन्सले अष्ट्रेलिया, चीन, भारतलगायतको देशमा उडान गरेको छ । लकडाउन अवधिमा नै हिमालय एयरलाइन्सले पनि चीन र हङकङमा उडान गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस