aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

नेपालमा आज ईद मनाउँदै, देशैभरि सार्वजनिक विदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ जेठ २०७७
नेपालमा आज ईद मनाउँदै, देशैभरि सार्वजनिक विदा

काठमाडौं ।  ईद अर्थात् इदुलफित्रको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् ।

रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

शनिबार चन्द्रमा नदेखिएको हुनाले हिजो आइतबार इदुलफित्र नमनाएर आज मनाउँदैछन्। फरक–फरक भूगोल विशेषमा ईदको दिन विगतदेखि नै फरक पर्दै आएको छ । तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी)ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकहीँ फरक–फरक क्षेत्रमा दिन फरक पर्ने गरेको छ ।

धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।

ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको निश्चित हिस्सा कोषमा दिने परम्परा छ । 

प्रतिक्रिया दिनुहोस