
बेइजिङ। चीनको वुहानस्थित भाइरोलोजी इन्स्टिच्युटको प्रयोगशालामा चमेरामा पाइने भाइरसका तीन सजीव नश्ल पाइएका छन्। तर, संस्थाका प्रमुखको भनाइमा तिनको मेल त्यो भाइरससँग देखिएको छैन, जसले अहिले संसारभर महामारीको रूप लिएको छ।
कोभिड-१९ को शुरुवात वुहानबाट भएको वैज्ञानिकहरूको मान्यता छ। कोरोना भाइरस पहिले चमेरामा आयो, अनि स्तनधारी जनावर हुँदै मानिसमा प्रवेश गर्यो।
समाचार एजेन्सी एएफपीका अनुसार वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका महानिर्देशक यान्यी वाङले चिनियाँ टेलिभिजन सीजीटीएनसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी मनगढन्ते भएको बताए।
“अहिले हामीले तीन प्रकारका भाइरस फेला पारेका छौं। तर, तिनीहरू ‘सार्स-कोभ-२’ (कोरोना भाइरस)सँग ७९.८ प्रतिशत मात्र मेल खान्छन्,” यान्यी भन्छन्।
कुनै अनलाइन न्युजपोर्टलमा पढेको समाचारका आधारमा अमेरिकी राष्ट्रपति ट्रम्प र विदेश मन्त्री माइक पम्पियोले वुहानको प्रयोगशालाबाटै कोरोना भाइरसको महामारी फैलिएको दाबी गरेको महानिर्देशक यान्यीको भनाइ छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार वुहानको प्रयोगशालाले भन्दै आएको छ- ‘३० डिसेम्बरमा कुनै अज्ञात भाइरसका केही नमूना आएका थिए। र, तिनको जिनोम (जिनको समूह) निकालेर ११ जनवरीमा विश्व स्वास्थ्य संगठनलाई दिइएको थियो।’
महानिर्देशक यान्यीका अनुसार ३० डिसेम्बरभन्दा अगाडि वुहानको प्रयोगशालामा न त कुनै भाइरस संकलित थियो, न त्यसमाथि कुनै शोध नै भइरहेको थियो।
“अरू मानिसलाई जस्तै हामीलाई पनि त्यस्तो कुनै भाइरसको अस्तित्व रहेको जानकारी थिएन,” महानिर्देशक यान्यी भन्छन्, “जब हामीसँग यो भाइरस छँदै थिएन त कसरी लिक हुने कुरा आउँछ ?”
प्रतिक्रिया दिनुहोस