काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै उद्योगधन्दा सञ्चालन गर्नका लागि लकडाउन खुकुलो बनाउन लागिएको बताएका हुन् । सम्बोधनमा प्रम ओलीले थप उद्योग व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाउन लकडाउनलाई थप खुकुलो बनाउने बताएका हुन् ।
उनले आयात निर्यातलाई थप सहज बनाउने, उद्योग धन्दा सञ्चालनको उपयुक्त वातावरण बनाउने पनि बताएका हुन् । प्रधानमन्त्री ओलीले आवश्यक आर्थिक पुनरुत्थानका लागि छुट्टै प्याकेज बनाइरहेको पनि बताएका छन् । अर्थ मन्त्रालयले कोभिड–१९ को मारमा परेका उद्योगी व्यवसायीलाई राहत दिन आर्थिक प्याकेज तयार पारिरहेको पनि बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी मुलुकमा अहिले फैलिँदो अवस्थामा रहेकोले सबैलाई सचेत र सजग बन्न आग्रहसमेत गरेकाे छ ।
उनले रोग वा भोक केहीबाट पनि देशबासीको जीवन जोखिममा पर्न नदिन सरकार हदैसम्म प्रयत्नशील रहेको दोहो¥याउँदै कुनैपनि विषयले कोरोना विरुद्धको जारी ‘युद्ध’लाई कमजोर पार्न हुन्न भन्नेमा आफु अझै प्रष्ट रहेको पनि बताए ।
सोमबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘अहिले मुलुक बाहिर रहेका नेपालीहरुको घर फर्किने क्रम बढेको छ, मैले नेपालीहरू ठूलो संख्यामा कार्यरत रहेका मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग गम्भीर संवाद गरेको छु । नेपालीहरूको अप्ठ्यारोमा सहयोग गर्न मैले गरेको आग्रहमा उहाँहरूले निश्चिन्त रहन आश्वस्त पार्नुभएको छ, यसका अतिरिक्त “कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना” सहितको आदेश तत्काल जारी गरिने छ ।
विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आप्mना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्छ, समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिने छ । सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ, यसमा निश्चिन्त रहन म सबैमा आग्रह गर्दछु ।’
प्रतिक्रिया दिनुहोस