
काठमाडौं। सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट आज (बिहीबार) सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सरकारको नयाँ आर्थिक वर्षको आय र व्ययको विवरण बजेट जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान अनुरुप आज अपराह्न ४ बजे बजेट प्रस्तुत हुने बैठकका लागि संसद् सचिवालयले दुवै सदनका सदस्यहरूलाई सूचित गरिसकेको छ ।
सरकारले यो पटक कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई केन्द्रित गरी आगामी आर्थिक वर्षको बजेट १६ खर्बको हाराहारीमा ल्याउने अर्थमन्त्रालयले अन्तिम तयारी गरेको बुझिएको छ ।
रोजगारीका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वरूप बदल्ने यसअघि नीति तथा कार्यक्रममा नै उल्लेख गरिएको छ । त्यसैले आज प्रस्तुत हुने बजेटले रोजगारीलाई केन्द्रमा राख्ने अनुमान छ । बजेटले स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रमा बिशेष प्राथमिकता दिने भएको छ ।
त्यस्तै, स्वास्थ्य क्षेत्रको पूर्वाधारमा जोड, पर्यटन क्षेत्रमा बिशेष कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकता र बेरोजगार श्रमिक मजदुरलाई बिशेष कार्यक्रमलाई मूल प्राथमिकतामा राखेर बजेट तयारी गरिएको छ ।
स्रोतका अनुसार बजेटमा नयाँ महत्वाकांक्षी र ठूला आयोजनाहरु समावेश नगरिए पनि पूराना, सम्पन्न हुन बाँकी रहेको बिकास आयोजनाहरुलाई भने निरन्तरता दिइएको छ ।
अनाश्यक र फर्जुल खर्च घटाउन सबैतिरबाट आएको दवावका बाबजुद आगामी बजेटमा संसद विकास कोषको रकम कटौती भने भएको छैन । अनावश्यक खर्च घटाउन विदेश भ्रमण, सवारी साधन खरिद र बैठक भत्ता लगायतका खर्चमा कडाई गरिएको छ ।
प्रतिक्रिया दिनुहोस