aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

१० महिनामा देशलाई ११ खर्ब घाटा, विलासिता वस्तु आयात मुख्य कारण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ जेठ २०७६
१० महिनामा देशलाई ११ खर्ब घाटा, विलासिता वस्तु आयात मुख्य कारण

व्यापार घाटा, भारतीय चुनाव, सामाजिक अपराध, सांसदको पठन सस्कृतिलगायत विषय आजका दैनिक पत्रिकाहरुको मुख्य प्राथमिकतामा परेको छ । शनिबारीय सामग्रीसहित छापिएका दैनिक पत्रिकाहरुले सहरको गरिबी, नेपाली नाम जुराउन निजी विद्यालयलाई परेको सकसमाथि पनि नजर लगाएका छन् ।

कान्तिपुरले देशको बढ्दो व्यापार घाटाबारे केलाएको छ । समाचार अनुसार, विलासिताका वस्तुको आयात र कृषिको परनिर्भरता मुलुकको व्यापार घाटा वृद्धिको मुल कारण हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिनामा १२ खर्ब ५६ अर्ब ६७ करोडको व्यापार भयो । त्यसमा आयात ११ खर्ब ७८ अर्ब १३ करोड र निर्यात ७८ अर्ब ५३ करोड रुपैयाँको भएको छ । जसमध्ये १० खर्ब ९९ अर्ब ६० करोड घाटा भएको समाचारमा उल्लेख छ ।

नेपाली नाम जुराउन निजी विद्यालयलाई परेको सकसबारे पनि कान्तिपुरमा सामग्री छ । कान्तिपुरका अनुसार सरकारले नेपाली नाम बनाउन नियमावली बनाएर निर्देशन दिएपछि निजी विद्यालयहरुलाई नाम जुराउनै मुस्किल परिरहेको छ ।

पाँचथरको आरुबोटे हत्याकाण्डलाई पनि कान्तिपुरले समेटेको छ । कान्तिपुरका अनुसार, हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि आफू पनि मर्छु र सबैलाई मार्छु भन्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

९ जनाको ज्यान जानेगरी पाँच दिनअघि पाँचथरको मिक्लाजु–३, आरुबोटेमा ९ जनाको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस