
काठमाडौं । सरकारले आज प्रस्तुत गरेको बजेटमा लघु उद्योगको आयकर छुटको अवधि बढाएर ७ वर्ष पुर्याएको छ । यसअघि यस्ता उद्योगलाई ५ वर्षसम्म छुट दिने व्यवस्था थियो । त्यस्तै महिलाद्वारा सञ्चालित लघु उद्योगलाई १० वर्ष आयकर छुट दिने भएको छ । यस अघि यस्तो सीमा ७ वर्षको थियो ।
सरकारले लघु बीमामा मूल्य अभिवृद्धि कर नलिने भएको छ । लघु, घरेलु तथा साना उद्योग तथा कृषि, पशुपालन, पशुउचार माक्स बनाउने उद्योगले पैठारी गर्ने मेशिनरी तथा कच्चा पदार्थ र कृषि उद्योग तथा फमले पैठारी गर्ने कृषि उपकरण तथा मेशिनरीका साथै धान, मकै गहुँ र तरकारीका बिउ पैठारी गर्दा लाग्ने भन्सार महसुल घटाइएको छ ।
सरकारबाट अनुमति प्राप्त गरेका र प्रमाणित बिउ केन्द्रबाट खरिद गरेका किसानहरूको बिलको आधारमा अनुदान उपलब्ध गराउने भएको छ । सरकारले कृषिजन्य वस्तु आयात गर्दा लाग्ने भन्सार शुल्कमा वृद्धि गरिएको छ ।
कोरोनाबाट प्रभावित पर्यटन र यातायातलगायतका क्षेत्रलाई आयकरमा २० प्रतिशत छुट दिने भएको छ । औषधि उद्योगले आयात गर्ने कच्चा पदार्थमा मूल्य अभिवृद्धि ‘भ्याट’ नलाग्ने भएको छ । आयुवेदिक औषधिको कच्चा पदार्थमा भन्सार महसुल बढाएको छ ।
प्रतिक्रिया दिनुहोस