aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

हावाहुरीले मकै सोत्तर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ जेठ २०७७
हावाहुरीले मकै सोत्तर

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाअन्तर्गत वडा नं २ मा घोगा लाग्न शुरु भएको मकैबालीलाई हालै आएको हावाहुरीले  क्षति पु¥याएको छ ।

पटक–पटकको हावाहुरीले नौबीसे, सातबीसे, ढाँडेखोला, कामीटार खोला, कुविण्डे र जलवीरेमा पर्ने करिब ८०० हेक्टर क्षेत्रको खेतमा लगाएको मकैका बोट ढालेर  क्षति पु¥याएको वडासदस्य तिलक कार्कीले जानकारी दिए ।

बेँसी भेगमा त्यस क्षेत्रका कुविण्डे, जलवीरे, नौबीसेलगायतका खेत मकै उत्पादनका लागि जिल्लाकै उर्वरभूमिका रूपमा परिचित छ । किसानले हाइब्रिडलगायत विभिन्न जातका मकै लगाएकामा सम्पूर्णबाट ढलेर सोत्तर भएपछि उत्पादनमा कमी आउने जनाइएको छ । 

त्यहाँका ढाँडेखोला, कामीटार खोला र लामोसोतीका फाँटहरु जिल्लामा आवश्यक पर्ने रामपुर कम्पोजिट जातका मकैको बीउ उत्पादन हुने क्षेत्र हो । यस वर्ष उक्त जातको बीउ उत्पादन गर्न करिब ५०० रोपनी क्षेत्रमा लगाइएकामा आगामी वर्षको लागि बीउको समेत अभाव हुने उनले बताए । 

त्यसैगरी बारीमा लगाएको करिब २० रोपनी क्षेत्रको मकैबालीमा पनि अमेरिकी फौजी किराले सखाप पारेको वडाध्यक्ष छविलाल न्यौपानेले जानकारी दिए ।

जिल्लाका चौतारा सागाचोकगढी नगरपालिका, त्रिपुरासुन्दरी तथा इन्द्रावती गाउँपालिकाका केही वडा पनि अमेरिकी फौजी किराको प्रकोपबाट प्रभावित भएको किसानले गुनासो गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस