aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यार्सागुम्बा सङ्कलनका लागि स्थायी ठेगाना खुल्ने प्रमाणपत्र अनिवार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ जेठ २०७६
यार्सागुम्बा सङ्कलनका लागि   स्थायी ठेगाना खुल्ने प्रमाणपत्र अनिवार्य

काठमाडौं । जेठ १३ मा यार्सागुम्बा सङ्कलनका लागि औपचारिक रुपमा डोल्पाका सम्पूर्ण यार्सापाटन खुलाउने निर्णय गरेको छ । 

अनुमति खुला गरिने भएपछि शुक्रबारदेखि शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर प्रवेश दिन शुरु गरिएको हो । 

 राष्ट्रिय निकुञ्जले प्रवेश शुल्कबापत् मध्यवर्ती क्षेत्रभित्रका सर्वसाधारणका लागि रु ५००, मध्यवर्ती क्षेत्रबाहेक जिल्लाभित्रका सर्वसाधारणका लागि रु दुई हजार र जिल्ला बाहिरका सर्वसाधारणका लागि रु तीन हजार दस्तुर तोकिएको छ । 

त्यसबाहेक मध्यवर्ती क्षेत्रले सेवा शुल्कको रुपमा छुट्टै रु ५०० लिन पाउने व्यवस्था गरिएको छ । निकुञ्जले छोडपुर्जी दस्तुरबापत रु ३० हजार तोकेकोे छ । पुर्जीको म्याद जेठ १० गतेदेखि असार १० गतेसम्मको एक महीनाको अवधि रहने निकुञ्जले जनाएको छ । 

राष्ट्रिय निकुञ्जभित्रका १५ नाकाबाट प्रवेश गर्नेलाई प्रवेश पुर्जी काटिएको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । 

निकुञ्ज क्षेत्रमा पर्ने सुलिगाड, सुम्दुवा, छेप्का, पलम, रिग्मो, साल्दाङ, धो, त्रिपुराकोट, खालीवन, नाउली, तोइजुमलगायतका १४ वटा स्थानबाट सङ्कलन पुर्जी वितरण भइरहेको छ । 

यार्सा सङ्कलनको लागि छिमेकी जिल्ला रुकुम, जाजरकोट, जुम्लालगायतका अन्य जिल्लाबाट सर्वसाधारण आएका छन् । दैनिक आवश्यकता पूरा गर्नका लागि आफू यार्सागुम्बा सङ्कलन गर्न आएको रुकुम आठबीसकोट नगरपालिका–११ की हीरा शाहीले बताइन । । 

    अघिल्ला वर्षहरुमा भन्दा यो वर्षमा राष्ट्रिय निकुञ्जले चोरी निकासी गर्नेप्रति कडाइ गरिएको छ । यार्सा सङ्कलनकर्ताले अनिवार्य रुपमा आफ्नो साथमा स्थायी ठेगाना खुल्ने नागरिकता वा परिचयपत्र लिएर आउनेलाई मात्र पाटन प्रवेश गर्न दिइने छ । पाटनमा दैनिक खानका लागि खाद्यान्नलगायतका सामग्री लिनका लागि प्रयोग भएका घोडा खच्चरको रु १५० प्रवेश शुल्क लिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस