aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

राष्ट्रिय गौरवका आयोजना सङ्घीय सरकारको सहकार्यमा अघि बढाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ जेठ २०७७
राष्ट्रिय गौरवका आयोजना सङ्घीय सरकारको सहकार्यमा अघि बढाउने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । 

राष्ट्रिय गौरवका भेरी बबई बहुउद्देश्यीय आयोजना र जगदुल्ला जलविद्युत् आयोजनामा प्रदेश सरकारको उचित लगानी गरिने सरकारले तयारी गरेको छ । भेरी बबई बहुउद्देश्यीय आयोजनाको बाँधलाई प्रयोग गरी सङ्घीय सरकारसँगको सहकार्यमा यस प्रदेशको पूर्ण स्वामित्व कायम हुने गरी छुट्टै जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउने, राष्ट्रिय विद्युत् प्रसारण सञ्जाल नपुगेका दुर्गम र भौगोलिकरुपमा कठिन स्थानमा लघु जलविद्युत् एवं सौर्य, बायोग्यास, वायु ऊर्जालगायतका वैकल्पिक ऊर्जाको विकास गर्ने नीति प्रदेश सरकारले लिएको छ । 

रणनीतिक तथा पर्यटकीय महत्वको सुर्खेत–हिल्सा सडकखण्डको विकास र स्तरोन्नतिको लागि स्वदेशी र विदेशी दुवै स्रोतको परिचालन गर्न सङ्घीय सरकारसँगको सहकार्यमा कार्यान्वयन गर्ने, स्थानीय तहको केन्द्रदेखि जिल्ला सदरमुकाम जोड्ने पहुँच मार्ग निर्माणको कार्यलाई निरन्तरता दिँदै जिल्ला सदरमुकामबाट प्रदेश राजधानी जोड्ने रणनीतिक महत्वका प्रादेशिक सडकको स्तरोन्नति गर्ने नीतिलाई पनि प्रमुखका साथ सरकारले अघि बढाएको छ । 

प्रदेश सरकारको प्रस्तुत नीति तथा कार्यक्रमअनुसार कोभिड–१९ को रोकथामका लागि क्वारेन्टिनलाई व्यवस्थित गर्ने नीति लिइएको छ । कोभिड–१९ बाट जनतालाई सुरक्षित राख्न क्वारेन्टिन व्यवस्थापन गरी भारतलगायतका विश्वका विभिन्न मुलुकबाट फर्किएका नागरिकलाई राखिनेछ । जसमा खानाको प्रबन्ध सम्बन्धित स्थानीय तह र निर्वाह भत्ता प्रदेश सरकारले उपलब्ध गराउनेछ । प्रदेश सरकारले आगामी वर्ष मास्क, स्यानेटाइजर, पिपिई उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।
 

प्रतिक्रिया दिनुहोस