aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

पाकिस्तानले शुरु गर्यो अन्तर्राष्ट्रिय उडान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ जेठ २०७७
पाकिस्तानले शुरु गर्यो अन्तर्राष्ट्रिय उडान

कराँची । कोभिड १९ को कारण बन्द रहेको अन्तर्राष्ट्रिय उडानहरु पाकिस्तानले सुरु गरेको छ । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान शुरू गरेको हो । पाकिस्तान सरकारले कोरोनाभाइरस संक्रमणका कारण यसको नियन्त्रण गर्न नियमित गतिविधिमा पनि रोक लगाएको थियो । तर शुक्रबारदेखि यहाँका अन्य नियमित गतिविधिहरुमा पनि खुकुला पार्ने नीति लिएको छ । उक्त निर्णयसँगै अन्तर्राष्ट्रिय उडानहरुमा लगाएको प्रतिबन्ध पनि शुक्रबार रातिदेखि नै फुकुवा गरेको बताएको छ । 

पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना जारी गरेर सो जानकारी दिएको थियो र सोही बमोजिम शुक्रबार रातिबाट उडान शुरु भएको हो । प्राधिकरणले देशभित्रका आन्तरिक उडानहरुलाई पनि विस्तारै विभिन्न चरणमा गरी यसअघि नै शुरू गरिसकेको छ । 

पाकिस्तान सरकारको निर्णयअनुसार पाकिस्तानबाट हुने अन्तर्राष्ट्रिय उडानहरू शुक्रबार राति २३ः५९ पछि सुरू भएका समाचारमा जनाइएको छ । पाकिस्तानबाट विदेशका लागि हुने उडानका लागि आवश्यक प्रक्रिया सरकारले पहिले नै तोकेको थियो । यहाँबाट गरिने विदेशी उडानहरुका लागि विमान कम्पनीहरूले गन्तव्य देशको नियमलाई पालना गर्नुपर्ने गरी नियम बनाइएको छ ।     

हरेक विमानलाई उडान सुरु गर्नुपूर्व स्यानिटाइज गर्ने तथा विमानस्थलमा भिडभाड नगर्नेलगायतका स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्डहरु अपनाउनुपर्ने नियम यहाँका उड्डयन अधिकारीहरुले बनाएका छन् । सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस