
पोखरा । गण्डकी प्रदेश सरकारले पोखरा स्याटेलाइट सिटी (उपशहर) निर्माणलगायतका कार्यक्रमलाई निरन्तरता दिइने सरकारले बताएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विनियोजन विधेयक २०७७ को सिद्धान्त र प्राथमिकतामा सङ्घीय सरकार र स्थानीय तहसँगको साझेदारीमा भौतिक पूर्वाधार विकास निर्माणका महत्वपूर्ण आयोजनालाई विशेष जोड दिइने जानकारीका हुन ।
प्रदेश प्रशासनिक भवन, प्रदेशसभा भवन तथा विभिन्न बहुउद्देश्यीय सामुदायिक भवन, जग्गा एकीकरण गरी एकीकृत शहरी विकास कार्यक्रम र विद्युतीय प्रणालीमार्फत यातायात कार्यालयबाट प्रदान हुने सबै प्रकारका सेवालाई प्रविधिमैत्री बनाउने तथा सवारी रुट परमिट र सवारी चालक अनुमतिपत्र प्रणालीलाई व्यवस्थित गरिने मन्त्री गुरुङले बताए ।
प्रदेशको आर्थिक–सामाजिक विकास र समृद्धिको संवाहकका रूपमा रहेका प्रदेश गौरवका आयोजना, एक निर्वाचन क्षेत्र एक सडक, स्थानीय तहको केन्द्रलाई जिल्ला र प्रदेश केन्द्रसँग जोड्ने तथा रणनीतिक महत्वका सडक पूर्वाधार निर्माणका कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।
उनका अनुसार बृहत् पोखरा चक्रपथ, प्रदेश बसपार्क र मेट्रो बसपार्कको सम्भाव्यता अध्ययन तथा निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने छ । प्रदेशभित्र निर्माण प्रक्रियामा अघि बढेका विभिन्न महत्वपूर्ण सडक, मोटरेबल पुल र झोलुङ्गे पुल निर्माण कार्यक्रमलाई समेत निरन्तरता दिइने मन्त्री गुरुङले जानकारी दिए ।
प्रदेशका सबै घरधुरीमा आधारभूत खानेपानी कार्यक्रम, स्वच्छ पिउनेपानी तथा एक घर, एक धारा खानेपानी कार्यक्रम, गण्डकी प्रदेश उज्यालो प्रदेश कार्यक्रम, नवीकरणीय ऊर्जा कार्यक्रम, जनता आवास कार्यक्रम, साना तथा ठूला सिँचाइ आयोजना, भूमिगत जल उपयोग आयोजना र जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिने सरकारको योजना छ ।
प्रतिक्रिया दिनुहोस