aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कम रकममा नै निर्माण सम्पन्न भएको भन्दै ठेकेदारले फिर्ता गरे राज्यलाई ४० लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ जेठ २०७६
कम रकममा नै निर्माण सम्पन्न भएको  भन्दै ठेकेदारले फिर्ता गरे राज्यलाई ४० लाख

रामेछाप । रामेछापका एक निर्माण व्यवसायीले  तोकिएको समय अगावै थोरै लागतमा आयोजनाको काम फत्ते गरेका छन् । यति मात्रै होइन, उनले फाइदा भएको रकम पनि राज्यलाई फिर्ता गरेका छन् ।रामेछाप सदरमुकाम मन्थलीका सात सरकारी भवन तोकिएको समयमा सम्झौताभन्दा कम लागतमै निर्माण भएका हुन् ।

भूकम्पबाट क्षतिग्रस्त भवनको पुणर्निर्माण गर्ने निर्माण व्यवसायीले कम रकममा निर्माण सकाएर राज्यकोषमा ४० लाख रुपैयाँ जम्मा गरिदिएका छन् । नमूना काम गर्ने निर्माण कम्पनी हो– सुनकोसीर खानीर थोदुङ जेभी र सञ्चालक हुन् रामबाबु घिमिरे ।

घिमिरेको निर्माण कम्पनीले जिल्लाको ३ सरकारी भवन निर्माणको जिम्मा लिएको थियो । त्यसको लागत रकम थियो १३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँ  ।

तर घिमिरेले लागत भन्दा कम रकममा नै निर्माण सम्पन्न गरिदिए । त्यो पनि निर्धारित समयमा नै ।

१३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँमा लिएको ठेक्का १२ करोड ६८ लाख ७१ हजार आठ सय बत्तीस रुपैयाँमै सम्पन्न भएको निर्माण व्यवसायी घिमिरेले बताए । 

खानेपानी डिभिजन कार्यालयको भवन निर्माणको लागि ४ करोड ६७ लाख ६२ हजार ६ सय ८२ रुपैयाँ, शहरी विकास फिल्ड कार्यालय भवनको लागि ५ करोड ७६ लाख ७२ हजार १ साय ४ रुपैयाँ र प्रमुख जिल्ला अधिकारी आवास भवको लागि २ करोड २४ लाख ३७ हजार ४४ रुपैयाँ रकम खर्च भएको कम्पनीले जनाएको छ ।

राष्ट्रिय पुणर्निर्माण प्राधिकरणबाट भूकम्पपछिको पुणर्निर्माणको लागि एसियाली विकास बैंकको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत साझेदारी कार्यक्रमको लगानीमा ती भवनहरु निर्माण भएको हो । निर्माण सम्पन्न भवनहरु कार्यालय प्रयोजन, आवास, क्यान्टिन, ग्यारेज र फर्निचरको सुविधा सहित अपाङ्ग मैत्री छन् ।
 

प्रतिक्रिया दिनुहोस