
एजेन्सी। प्रहरी नियन्त्रणमा अश्वेत नागरिकको हत्या भएपछि अमेरिकाका दर्जनौं सहरमा सुरु भएको प्रदर्शन देशव्यापी बनेको छ ।
बीबीसीका अनुसार कम्तीमा ४० सहरमा कर्फ्यु जारी गरिएको छ । तर प्रदर्शनकारीले कर्फ्युको बेवास्ता गर्दै प्रदर्शनलाई निरन्तरता दिएका छन् । प्रहरी अधिकारी डेरेक सोभिनको ज्यादतीका कारण जर्ज फ्लोयडको ज्यान गएपछि त्यसको विरोधमा प्रदर्शन चर्केको हो ।
न्युयोर्क, सिकागो, फिलाडेल्फिया, लस एन्जलस, डेभनपोर्टलगायत दर्जनौं सहरमा दंगा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका छन् । प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास तथा पानीका फोहोराको प्रयोग गरेको छ । विभिन्न स्थानबाट प्रहरीले ३ सय जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
आयोवा राज्यको डेभनपोर्टमा आइतबार रातभर गोली हानाहान भएको जनाइएको छ । प्रहरीको गोली लागी कम्तीमा २ जनाको ज्यान गएको छ । एक प्रहरी अधिकारी घाइते भएका सीएनएनले जनाएको छ । डेभनपोर्ट प्रहरी प्रमुख पल सिकोर्कीले गस्तीमा रहेका तीन जना प्रहरीमाथि आक्रमण भएको जनाए ।
दर्जनौं राज्यमा प्रहरीका गाडी जलाइएका छन् भने पसलहरूमा लुटपाट भएको छ । ६ दिनदेखि जारी विरोध प्रदर्शनलाई ५ दशकयताकै हिंसात्मक रंगभेदी आन्दोलनका रूपमा लिइएको छ । सन् १९६८ मा मार्टिन लुथर किंगको हत्यापछि विश्वका विभिन्न देशमा विरोध प्रदर्शन गरिएको थियो ।
प्रर्दशनकारीकाे ठूलो भीडले ह्वाइटहाउसअघि विरोध प्रदर्शन गरेको छ । प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । त्यसलगत्तै प्रदर्शनकारीले दंगा प्रहरीमाथि ढुंगा प्रहार गरेका जनाइएको छ ।
प्रदर्शन चर्केका विभिन्न १५ राज्य र राष्ट्रपति कार्यालय ह्वाइटहाउस अगाडि नेसनल गार्ड परिचालन गरिएको छ । अमेरिकी सेनाको सञ्चित फौज नेसनल गार्ड देशभित्र कुनै संकट आइपर्दा खटाइने गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनको कर्फ्यूलाई अझ कडा पारिने जनाएका छन् । योसँगै उनले अमेरिकाभर विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेको र सोको अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन् ।
‘दङ्गाबाट हाम्रो अति विपन्न समुदायका शान्तिप्रेमी नागरिकहरू सबैभन्दा पीडित भएका छन् र राष्ट्रपतिका हैसियतले म उनीहरूलाई सुरक्षित राख्नका लागि सक्दो गर्छु’, ट्रम्पले टेलिभिजन सम्बोधनमा भने ।
यसैगरी राष्ट्रपति ट्रम्पले राज्यका गभर्नरहरूलाई चेतावनी दिदैं प्रदर्शनकारीविरूद्ध कडा रूपमा प्रस्तुत हुन भनेका छन् ।
उनले दशककै सबैभन्दा खराब नस्लीय र नागरिक अशान्ति घटनामा गभर्नरहरूको प्रतिक्रिया कमजोर भएको आरोप लगाएका छन् । ट्रम्पले हिंसाका लागि वामपन्थी कट्टरपन्थी जिम्मेवार रहेको आरोप लगाएका छन् । तर, आलोचकहरूले भने राष्ट्रपति ट्रम्पले समाज विभाजन पैदा गरिरहेको आरोप लगाएका छन् ।
गत सोमबार जर्जलाई नियन्त्रणमा लिनेक्रममा मिनियापोलिसका प्रहरीले जर्जको घाँटी कयौं मिनेटसम्म घुँडाले दबाएका थिए । आधिकारिकारुपमा भने उनको मृत्युलाई हत्या भनिएको छ।
घटनाबारे सार्वजनिक एक भिडियोमा सोभिनले फ्लोइडको घाँटीमा ८ मिनेटभन्दा बढी समयसम्म घुँडाले टेकेको देखिन्छ । फ्लोइडले आफूलाई सास फेर्न गाह्रो भएको बताएको समेत भिडियोमा सुन्न सकिन्छ । ४४ वर्षीय सोभिनसहित ४ जना प्रहरीलाई घटनापछि बर्खास्त गरिसकिएको छ ।
प्रतिक्रिया दिनुहोस