aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

नेपाल फर्कन चाहनेलाई नाम टिपाउन दूतावासको अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
नेपाल फर्कन चाहनेलाई नाम टिपाउन दूतावासको अनुरोध

लण्डन । कोरोना महामारीका कारण जारी लकडाउनले गर्दा बेलायतमा रोकिन बाध्य नेपालीहरुलाई प्राथमिकताका आधारमा स्वदेश फर्काइने भएको छ ।

लण्डनस्थित नेपाली दूतावासले नेपाल फर्किन जरुरी हुने बेलायत तथा माल्टा र आयरल्याण्डमा रहेका नेपालीहरुलाई आफ्नो नाम टिपाउन आव्हान गरेको छ ।नेपाल फर्कन चाहनेको नाम संकलन गर्दै लण्डन दूतावास, तत्काल विवरण बुझाउन अनुरोधगरेको छ ।

सरकारले विदेशमा रोकिएका नागरिकलाई स्वदेश फर्काउने तयारी शुरु गरेसंगै लण्डनस्थित नेपाली दूतावासले पनि बेलायतमा रोकिएका नागरिकको तथ्यांक जुटाउन शुरु गरेको हो ।

विदेशमा अड्किएका नेपाली नागरिकलाई स्वदेश फर्किन सहजीकरण गर्ने सम्बन्धी आदेश जारी भएको सन्दर्भमा लकडाउनका कारण फर्किन नपाएका र छिट्टै फर्किनपर्ने बाध्यता भएका बेलायत, आयरल्याण्ड र माल्टामा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा नेपाल फर्कने व्यवस्था गर्न लागिएको दूतावासले बताएको छ ।

दूतावासले चाँडै नेपाल फर्किनुपर्ने अवस्थामा रहेका नागरिकहरुलाई आफ्नो विवरण पाँच दिनभित्र दूतावासलाई जानकारी गराउन आग्रह गरेको छ । दूतावासको फेसबुक पेज, ट्वीटर वा इमेलमार्फत विवरण उपलब्ध गराउन सकिनेछ ।

आफ्नो विवरणका साथ आफ्नो नाम, राहदानी नम्बर, स्थायी ठेगाना, नेपाल फर्किएपछि बस्ने ठेगाना, नेपालको टेलिफोन नम्बर, आफ्नै खर्चमा तोकिएको होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिन कुनमा बस्ने हो भन्नेबारे जानकारी, नेपाल फर्किनपर्ने कारण, हाल आफू बसेको ठेगाना र सम्पर्क टेलिफोन र इमेल समेत उपलब्ध गराउन आग्रह गरिएको छ ।

दूतावासको विज्ञप्ति :

फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकहरुलाई आफ्नो विवरण अद्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी नेपाल सरकार(मन्त्रिपरिषद्)को मिति २०७७।२।१२ को निर्णय बमोजिम स्वीकृत ‘कोभिड—१९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७’ जारी भएको सन्दर्भमा कोभिड—१९ महामारीको परिणामस्वरुप बन्दाबन्दीको कारणले नेपाल फर्कन नपाएका र छिट्टै नेपाल फर्कनु पर्ने बाध्यतामा रहेका वेलायत, आयरल्याण्ड र माल्टामा रहनुभएका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा नेपाल फर्कने व्यवस्था गर्न लागिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । तसर्थ, यस प्रयोजनको लागि निम्न विवरण आवश्यक भएको हुँदा राजदूतावासको फेसबुक पेज, ट्वीटर, इमेलमार्फत ५ दिनभित्र आफ्नो विवरण उपलव्ध गराउनुहुन अनुरोध गरिन्छ ।

तपशिल :

१. आफ्नो विवरणहरु यस राजदूतावासको इमेल ः [email protected] वा फेसबुक पेज ः नेपाली राजदूतावास, लण्डन वा टवीटर ः Embassy of Nepal, London मा इनवक्स मेसेज गरी पठाउन सकिने ।
२. गैरआवासीय नेपाली संघ, वेलायतले संकलन गरेको नेपाल फर्कन चाहने नेपालीहरुको विवरण यस राजदूतावासमा प्राप्त भैसकेको र उक्त विवरणमा राहदानी नम्बर, नेपाल फर्केपछि बस्ने ठेगाना, नेपालको टेलिफोन सम्पर्क नम्बर र होटल क्वारेन्टाइन वा स्थानीय तहले व्यवस्थापन गरेको कुन स्थानमा बस्ने हो सो विवरण थप अधाविधिक गर्नुपर्ने भएकोले गैरआवासीय नेपाली संघमा आफ्नो विवरण दर्ता गराउनु भएका नेपाल फर्कन चाहने महानुभावहरुले यी थप विवरणहरु यस राजदूतावास वा गैरआवासीय नेपाली संघ पठाउनु हुन ।
३. गैरआवासीय नेपाली संघ, आयरल्याण्ड र गैरआवासीय नेपाली संघ, माल्टाले पनि यस सम्बन्धी विवरणहरु संकलन गरी यस राजदूतावासमा पठाउने व्यवस्था हुन । स्वयं व्यक्तिले पनि आफ्नो विवरण राजदूतावासमा पठाउन सकिनेछ ।
४.हवाई उडानबाट स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नु अगाडि कोभिड संक्रमण नभएको स्वास्थ्य परिक्षण (पि.सि.आर-आर.डि.टि-अन्य) को प्रमाण साथमा राख्नु पर्नेछ ।
५. नेपाल फर्कने व्यक्तिले हवाई उडान तथा यातायात खर्च र होटल क्वारेन्टाइन खर्च आफैले व्यहोर्नु पर्नेछ ।
६.विमानस्थलमा पुगेपश्चात् प्रत्येक यात्रुलाई काठमाडौं चक्रपत्र आसपासमा रहेका होल्डिङ सेन्टरमा लगी आवश्यक प्रक्रिया पूरा भएपछि सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनमा ट्रान्सफर गरिने ।
७. नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रुपमा स्थानीय क्वारेन्टिन वा होटल क्वारेन्टिनमा चौध दिनसम्म बस्नुपर्ने र तत्पश्चात स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप ७ दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्नेछ ।
८. नेपाल जाने प्रत्येक व्यक्तिले तोकिएको सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ । एअरलाइन्स र उडान तालिका लगायत अन्य विवरणहरुका सम्बन्धमा पछि जानकारी गराइने व्यहोरा अनुरोध छ ।

Sharad Raj Aran

DCM

Embassy of Nepal, London

12 A Kensington Palace Gardens

London W84QU

Fax- 02077929861

02072437851,02072291594

प्रतिक्रिया दिनुहोस