aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कर्णालीमा कोरोना सङ्क्रमित २६२ पुग्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
कर्णालीमा कोरोना सङ्क्रमित  २६२ पुग्याे

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या २६२ पुगेको छ ।  सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार अछामका सातसहित कर्णाली प्रदेशमा थप २९ सङ्क्रमित पहिचान भएका हुन् । यो सँगै सङ्क्रमितको सङ्ख्या २६२ पुगेको हो ।

महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतको वीरेन्द्रनगर वडा नं १ का आठजना, वडा नं ३ का तीनजना, सल्यानको दार्मा गाउँपालिकाका नौजना, सुदूरपश्चिम प्रदेश अछामको मङ्गलसेन नगरपालिका–४ का एकजना र मल्लेख गाउँपालिका–४ का ६ पुरुष र दुई महिला गरी थप २९ जना पहिचान भएको हो ।

अछामको स्वाबको परीक्षण पनि सुर्खेतस्थित प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा हुँदै आएको छ । नयाँ पहिचान भएका सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । 

भारत सरकारले लकडाउनकै बीचमा रेल तथा बस सेवा सञ्चालन गरेपछि रोजगारीका लागि त्यहाँका विभिन्न स्थानमा रहेका कर्णालीवासी फर्कने क्रम जारी छ । कर्णालीमा पहिचान भएका सबै सङ्क्रमित भारतबाट फर्किएका हुन् । हाल प्रदेशका सबै जिल्लामा आरडिटी परीक्षण र पिसिआरका लागि स्वाब सङ्कलन कार्य भइरहेको छ । मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेशन र १७ भेन्टिलेटर रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस