aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

सरकारले यसरी परिचालन गर्यो सेना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
सरकारले यसरी परिचालन गर्यो सेना

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथामको निम्ति विभिन्न जिम्मेवारी दिँदै नेपाली सेना परिचालन गरेको छ। कोरोना भाइरसको व्यवस्थापन केन्द्र सीसीएमसीले तयार गरेको ‘कोभिड १९ को रोकथाम, प्रतिकार्य र नियन्त्रणको राष्ट्रिय अभियानको योजना २०७७’ मा दिएको जिम्मेवारी निर्वाह नेपाली सेनाले गर्नेछ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार सरकारको आदेशपछि नेपाली सेना खटिइसकेका छन् । पाण्डेले भने, ‘सीसीएमसी अन्तर्गतको सुरक्षा क्षेत्रको काम कार्यान्वनय गराउन नेपाली सेना परिचालन भएको छ। अहिले नेपाली सेना तोकिएको स्थानमा रेकी गर्न गइसकेको छ।’

हवाईमार्ग हुँदै काठमाडौंमा र स्थलमार्ग हुँदै भारतीय नाकाबाट भित्रिने करिब नौ लाख नेपालीलाई ‘होल्डिङ सेन्टर’मा लगेर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने कार्यमा सेनाले सघाउने छ।

अहिले काठमाडौंमा हवाईमार्गबाट आउनेहरूका निम्ति चक्रपथ आसपासका पार्टी प्यालेसलाई होल्डिङ सेन्टरको रूपमा प्रयोग गरिने र त्यसको काम सुरु भइसकेको बताइएको छ। विमानस्थलमा आइसकेपछि उनीहरूको कसरी व्यवस्थापन गर्ने भन्नेबारे अभ्यास सुरु भइसकेको विमानस्थलस्थित एक अधिकारीले जानकारी दिए।

ती अधिकारीहरूका अनुसार म्यानमारबाट सम्भवतः एकजना आजै र यूएईबाट जेठ २३ गते करिब दुई सय नेपाली आउने बताइएकाले अभ्यास तत्काल सुरु गरिएको हो।

चार रणनीति, चार जिम्मेवारी
‘महामारीको रोकथाम, प्रतिकार्य र नियन्त्रण गरी जनताको जीवन रक्षा गर्दै जनजीवनलाई सामान्य स्थितिमा ल्याई राष्ट्रको शान्ति सुव्यवस्था कायम राख्ने’ मुख्य उद्देश्य लिएको योजनामा नेपाली सेना लगायत विभिन्न क्षेत्रको जिम्मेवारी तोकिएको हो।

यसको निम्ति ‘राष्ट्रिय ऐक्यबद्धताका साथ राष्ट्रिय शक्तिमा सम्पूर्ण शक्तिहरूलाई समन्वयात्मक रूपमा परिचालन गर्नुपर्ने आवश्कता ठानेर नेपाली सेनालाई पनि जिम्मेवारी दिइएको’ बताइएको छ।

त्यसको निम्ति रणनीति बनाइएको छ। जसमा सङ्क्रमणको स्रोत नियन्त्रण गर्ने, सङ्क्रमणका सम्भाव्य मार्गहरू अवरूद्ध गर्ने, सम्भावित जोखिममा रहेका जनसमुदायको सुरक्षा गर्ने र सङ्क्रमितहरूको उपचार गर्ने उल्लेख छ।

उक्त जिम्मेवारी निर्वाह गर्न चारवटा क्षेत्र छुट्याइएको छः स्वास्थ्य व्यवस्थापन, आपूर्ति व्यवस्थापन, सुरक्षा व्यवस्थापन र सूचना व्यवस्थापन। सीसीएमसीका चारवटा ‘कलस्टर’ अनुसार नै जिम्मेवारी वर्गिकरण गरेको देखिन्छ।

यस्तो छ सेनाको जिम्मेवारी
सीसीएमसीले जारी गरेको कार्ययोजना अनुसार त्यसमध्ये सुरक्षा कलस्टर अन्तर्गत यी जिम्मेवारी नेपाली सेनालाई तोकिएको छ । प्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिङ सेन्टरमा पुर्‍याई त्यहाँबाट होटल क्वारन्टीन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारन्टीनमा पुर्‍याउने आवश्यक यातायातका साधनको व्यवस्थापन गर्नेकाममा नेपाली सेनालाई यातायात व्यवस्था विभागको संयोजनमा ट्राफिक प्रहरी महाशाखाले सघाउने छ ।

काठमाडौंमा रहेका होल्डिङ सेन्टरको व्यवस्थापन सेनाले गर्ने छ भने सीमानाका सेन्टरमा उसलाई स्थानीय तहले सघाउने छ । नेपाल र सशस्त्र प्रहरीको सहयोगमा क्वारन्टीनको सुरक्षा, रेखदेख, नगरानी र अभिलेख गर्ने काम सेनाले गर्ने छ। यी काममा जिम्मेवार निकायको रूपमा सेनालाई राखिएको छ भने सहयोगी निकायको रूपमा अन्य विभिन्न जिम्मेवारी पनि दिइएको छ।

त्यसबाहेक उच्च जोखिम रहेका इलाकाका ‘रेडजोन’मा पनि सेना खटिने छ। समग्रमा क्वारन्टीन र आइसोलेशन लगायताको सुरक्षाको जिम्मेवारीमा सेना रहने छ। बीबीसी

प्रतिक्रिया दिनुहोस