
काठमाडौं । नेपालमा प्राय मृत्यु भइसकेकाको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो सम्बन्धी परिभाषा नै परिवर्तन गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट मृत भएकाको शव व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७६ लाई पनि संशोधन गरी अन्य रोगबाट मृत्यु भएको स्पष्ट भएमा त्यसलाई कोरोनाबाट मृत्यु भएको मान्यता नदिइने जनाइएको छ । यसअघि जे सुकै कारणले मृत्यु भएको भएपनि यदि मृतकमा कोरोना संक्रमण पोजेटिभ देखिएमा त्यसलाई कोरोना कै कारण मृत्यु भएकोमा गणना गर्दै आइएको थियो ।
संशोधित कार्यविधिमा भनिएको छ, ‘कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ का क्लिनिकल लक्षण तथा चिन्हहरू र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केशहरूलाई भन्ने बुझ्नुपर्दछ। कोभिड १९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधि बीचमा निज पूर्णतः निको नभएको हुनुपर्छ । कोभिड १९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ कारणले मृत्यु भएको मानिने छैन ।’
हरेक दिन ठूलो संख्यामा कोरोना संक्रमितको पहिचान हुन् थालेपछि सरकारले त्यस्ता संक्रमितको उपचारबारे समेत नयाँ नीति अवलम्बन गर्ने भएको छ । मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन गर्ने र सामान्य अवस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको छ ।
स्वास्थ्य मन्त्रालयले यही जेठ २० गते स्वीकृत ‘कोभिड–१९ केशको आइसोलेशन व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ जारी गरेको हो । नयाँ निर्देशिकामा भेन्टिलेटर र अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीलाई अस्पताल र सामान्यावस्थामा रहेका बिरामीलाई घरमै विभिन्न सचेतनासहित राख्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस