
काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी)मा कार्यरत थप एक जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सो अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूमा त्रास थपिएको छ । बुधवारसम्ममा केएमसीमा ५ जना कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ ।
मङ्गलवार अस्पतालका चार जना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि ट्रेसिङ गर्ने क्रममा २१ वर्षिया स्वास्थ्यकर्मी (नर्स)मा पनि कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरू त्रसित भएका हुन् । उनी १५ दिनअघि सङ्क्रमित बिरामीको शल्यक्रियामा संलग्न भएको अस्पतालकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. चन्दा कार्कीले बताइन् ।
उक्त अपरेसनका क्रममा संलग्न स्वास्थ्यकर्मीको टिममध्ये नर्सहरूमा सङ्क्रमण देखिएको छ भने डक्टरमा भने सङ्क्रमण नदेखिएको उनले बताइन् । कार्कीका अनुसार, ‘अपरेसनमा संलग्न सबै स्वास्थ्यकर्मीहरू पर्सनल प्रोटेक्टेड इक्वीप्मेन्ट (पिपीई) सहित थिए । तर, डक्टरमा सङ्क्रमण देखिएन । सँगै रहेका नर्सहरूमा भने सङ्क्रमण देखियो ।’ अहिले सङ्क्रमितको कन्ट्याक ट्रेसिंग गर्ने काम भइरहेको छ ।
अस्पतालका कर्मचारीमा सङ्क्रमण भेटिएपछि केएमसीको आकस्मिक लगायत सबै सेवा मङ्गलवारबाट बन्द गरिएको छ । अस्पतालमा रहेका बिरामीमा कोरोना भाइरस (कोभिड-१९) देखिएपछि अस्पताललाई डिसेन्टिफिकेसन गर्नका लागि सबै सेवा बन्द गरिएको कार्कीले जानकारी दिइन् । सङ्क्रमण फैलावट रोक्नको लागि सङ्क्रमणको सम्भावना रहेका कर्मचारी तथा स्वास्थ्यकर्मीलाई अहिले अस्पताल मै राखिएको छ ।
अस्पतालमा रहेका १६ स्वास्थ्यकर्मीहरूलाई घर जान दिइएको छैन । उनीहरू आफै पनि घर जान सक्ने अवस्थामा छैनन् । तर उनीहरूलाई अस्पतालले बेवास्ता गरेको एक नर्सले आर्थिक न्यजडटकमलाई बताइन् । उनले भनिन्, ‘अस्पतालमा सङ्क्रमण देखिएपछि फ्रन्ट लाइनमा काम गर्ने हामीलाई पनि सङ्क्रमण भएको हुन सक्छ हामी घर जान पनि सक्दैनौँ । अस्पतालले पनि हामीलाई केयर गर्दैन ।’ आफूहरू त्रसित अवस्थामा रहेको उनले जानकारी दिइन् । उनले मनोदशा पोखिन्, ‘सङ्क्रमित सहकर्मीको सङ्ख्या थपिँदो छ । सँगै काम गरेका साथीमा सङ्क्रमण देखिएपछि आफ्नो स्थिति के होला भन्ने लाग्छ । तर, परीक्षण नै गरिएको छैन । कतै गम्भीर लक्षण पो देखिने हो कि भन्ने त्रासले सताउन थालेको छ ।’
आफैले काम गरेको अस्पताल जेल जस्तो मात्र बनेकोमा ती स्वस्थकर्मीहरु आक्रोशित देखिन्थे । ती नर्सका अनुसार केएमसीले १६ जना नर्सलाई एउटै रुममा राखेको छ र उनीहरूको पीसीआर टेष्ट पनि गरेको छैन । ‘ठुलो अस्पताल हो, हामीले अलिकति विरोध गरेको थाहा पाए मात्र पनि जागिरबाट निकाल्छ होला भन्ने डर छ । त्यसैले बोल्न पनि सक्दैनौ । हामीलाई पनि सङ्क्रमण भएको होला तर अस्पतालले भने पहुँच भएका कर्मचारीहरूको मात्र पीसीआर टेष्ट गरिरहेको छ ।, ती नर्सले डर व्यक्त गर्दै नाम उल्लेख नगर्ने सर्तमा आफ्ना कुरा आर्थिक न्युजडटकमलाई भनिन् ।
अपरेसन थिएटरमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई मात्र भक्तपुरको दुवाकोट स्थित क्वारेनटाइनमा लगेर राखेको ती नर्सले बताइन् । ‘अब तपाईँहरू सबै घर घरमा जानु, अस्पतालले यहाँ राख्न सक्दैन भनेर अस्पतालले दबाब दिइरहेको छ । सङ्क्रमण भए नभएको टेष्ट नै नगरी कसरी घर जानु ?’ त्रसित हुँदै ती नर्सले भनिन्, ‘हामीलाई सङ्क्रमण भएको रहेछ भने घरपरिवार सबैलाई सङ्क्रमण हुन्छ ।’
केएमसीको न्यूरो, आइसियु र एमआइसीयू वार्डमा काम गर्ने स्वास्थ्यकर्मीहरू पनि सङ्क्रमणको उच्च जोखिममा रहेका भए पनि ती वार्डका स्वास्थ्यकर्मीहरूलाई भने अस्पताल व्यवस्थापनले घर जान भनेर जबरजस्ती गरिरहेको ती नर्सले गुनासो गरिन् ।
अस्पतालकी प्रमुख डा. चन्दा कार्कीका अनुसार तीन दिन यता अस्पतालमा सङ्क्रमणको शङ्का गरिएका २१० जना कर्मचारीहरूको पीसीआर टेष्ट गरिएको छ । अस्पतालले आफ्ना कर्मचारीलाई सुरक्षित राख्न हर प्रकारले कोसिस गरिरहेको उनले जानकारी दिइन् । लकडाउन अवधिभर अस्पतालले बिरामीको सेवा दिइरहेको बताउँदै यसबिचमा बिरामीबाट नै कोभिड-१९ सङ्क्रमण देखिएपछि अस्पतालले विशेष सतर्कता अपनाएको उनले जानकारी दिइन् ।
उनले भनिन्, ‘अस्पतालमा सङ्क्रमण भएको बिरामीसँगको सम्पर्कमा रहेको ४२ जना कर्मचारीलाई हामीले भक्तपुरको दुवाकोटमा क्वारेनटाइनमा अस्पतालको व्यवस्थापनमा नै राखेका छौँ ।’ अहिले पनि अस्पतालमा दैनिक ७० जनालाई खान र बस्नको लागि व्यवस्था गरेको उनले बताइन् ।
अस्पतालले सकेको व्यवस्थापन गरिरहेको र टेष्टका विषय अस्पतालको पहुँचमा नभएको डा. कार्कीले जानकारी दिइन् । परीक्षणको लागि प्रशासनसँग छलफल भइरहेको अस्पतालकी बताउँदै उनले भनिन्, ‘लकडाउनको अवधिभर २५ सय बिरामीलाई अस्पतालले सेवा दिएको छ । विपद्को बेलामा पनि सबै कर्मचारीले बिरामीको सेवा राम्रोसँग गर्नु भएको छ । उहाँहरूलाई पनि अस्पतालले भौतिक रूपमा हुनसक्ने सहयोग गरेकै छ ।’ नर्सहरूमा देखिएको अत्यास बारे उनले रोचक टिप्पणी गरिन्, ‘उनीहरू सङ्क्रमणको आशङ्कामा त्रसित भएका छन् भने डरको त कुनै पनि औषधी हामीसँग हुँदैन । त्यो डर भगाउने काम हामी गर्न सक्दैनौँ ।’
प्रतिक्रिया दिनुहोस