
एजेन्सी । भारतका रक्षा सचिव अजयकुमारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका मंगलबार अजय कुमारलाई संक्रमण पुष्टि भएकाे हाे ।
अजय कुमारलाई संक्रमण पुष्टि भएपछि रक्षा मन्त्री राजनाथ सिंहलगायत अन्य अधिकारीहरू बुधबार कार्यालयमा उपस्थित भएनन् । नवभारत टाइम्स लेख्छ- ‘उनको सम्पर्कमा आएकाको वृहत कन्ट्याक्ट ट्रेसिङ गरिँदैछ र साउथ ब्लकस्थित कार्यालय डिसइन्फेक्सन गर्ने काम भइरहेको छ ।’
पछिल्ला केही दिनमा रक्षा सचिवसँग झन्डै ३० जना मानिस सम्पर्कमा आएको पनि नवभारत टाइम्सले जनाएकाे छ । अजय कुमार कोरोना संक्रमण हुने उच्च ओहोदाका पहिलो भारतीय कर्मचारी हुन्।
भारतीय रक्षा मन्त्रालय प्रवक्ता भारतभुषण बाबुले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । रक्षा मन्त्री सिंहको कार्यालयले उनी बुधबार मन्त्रालय नआएको जानकारी दिएको छ तर उनी घरमै क्वारेन्टिनमा पनि नबसेको बताएको छ ।
अहिले भारत एसियाकै महामारी केन्द्र बनिरहेकाे छ । एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । त्यहाँ अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा सङ्क्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ६३३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने २५९ जनाकाे मृत्यु भएकाे छ ।
योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितको संख्या दुई लाख १६ हजार ८२४ पुगेको वर्ल्डाे मिटर्सले जनाएकाे छ । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ८८ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस