aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने

काठमाडाैं । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ । 

अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकारले बिरामीको निःशुल्क उपचारबापत उपलब्ध गराउँदै आएको रकम लामो समयसम्म पनि निकासा हुन नसक्दा अस्पतालमा आर्थिक संकट परेकाले सो सेवा आगामी असार १ गतेदेखि बन्द गर्ने घोषणा अस्पतालले  गरेको हो । 

हाल प्रदेश नं ५ मा साढे ६ सयको हाराहारीमा मिर्गाैलाका बिरामी छन् ।  विपन्न वर्गका नागरिकलाई उपचार दिने सरकारबाट सूचीकृत सो अस्पतालमा मात्र साढे तीन सय  बिरामीले निःशुल्क डायलायसिस सेवा लिँदै आएका छन् ।

अस्पतालले ११ महिना बितिसक्दा पनि सरकारबाट पाउनुपर्ने रकम पाउन नसकेको अध्यक्ष एजाज आलमले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । हाल  अस्पताललाई सरकारले विपन्न वर्गका नागरिकको उपचारमा दिएको सहुलियतवापतको रु सात करोड ७५ लाख  निकासा हुन बाँकी नै रहेको उनको भनाइ थियो । 

उनका अनुसार चालु आर्थिक वर्षकै रकम नेपाल सरकारबाट भुक्तानी हुन नसक्दा बिरामीको उपचारका लागि चाहिने औषधि अभाव भएको छ । साथै  बिरामीको डायलायसिसका लागि आवश्यक डाइलाइजर, फ्लुड, हेपारिन, ट्युब, फिस्टुलालगायत सामग्री उपलब्ध गराउंने सप्लायर्सले समेत  सामान दिन बन्द गरेका कारण अस्पतालमा रहेको मौज्दातसमेत सकिने स्थितिमा रहेको उहाँको गुनासो थियो । 

उनले भने, “बिरामीको उपचार सेवा रोक्ने अस्पतालको मनशाय नहुँदा नहुंँदै पनि सरकारबाट भुक्तानी हुनुपर्ने रकम रोकिँदा अस्पताल चर्को आर्थिक सङ्कटमा पुगेको छ ।” 

उक्त अस्पतालका डायलायसिस सेण्टर रहेका बुटवलमा २०, दाङ, लमहीमा १० र  पाल्पाको तानसेनमा १०  गरी ४० यन्त्रबाट बिरामीले नियमित डायलायसिस सेवा लिँदै आएका छन् । यस्तै स्याङ्जाको वालिङमा १० यन्त्र जडान गरी सेण्टर सञ्चालनको तयारी रहेको तर लकडाउनको कारण केही ढिलाइ भएको अध्यक्ष आलमले बताए ।
 

प्रतिक्रिया दिनुहोस