aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

विदेशबाट आउनेलाई टेलिकमले सित्तैमा सिम दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ जेठ २०७७
विदेशबाट आउनेलाई टेलिकमले सित्तैमा सिम दिने

काठमाडौं । सरकारले विदेशबाट उद्धार गरेर ल्याउने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिम कार्ड दिने भएको छ । कोभिड–१९ को महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई सरकारले नेपाल ल्याएपछि नेपाल टेलिकमल क्‍वारेन्टाइन र होल्डिङ सेन्टरमै गएर निःशुल्क सिम दिने भएको हो । 

सरकारले विभिन्‍न २० वटा आवागमन स्थल र हवाई मार्गबाट विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी सुरु गरिसकेको छ।

नेपाल ल्याइने नागरिकलाई राखिने स्थलमै बुथ स्थापना गरी टेलिकमले सिम बाँड्न लागेको हो । यसका लागि १ लाख सिमकार्ड व्यवस्था गरिसकिएको टेलिकमले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने जुनसुकै कागजात उपलब्ध गराएर सिम लिन सकिने टेलिकमले जनाएको छ । सम्बन्धित व्यक्तिको परिचय पत्र नभए आफन्तको परिचय पत्रबाट पनि सिम लिन सकिनेछ ।

नेपाल फर्किएर क्‍वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई परिवार र आफन्तसँग सम्पर्क सहज होस् भन्नका लागि यस्तो निर्णय गरिएको टेलिकमले जनाएको छ । साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने नेपालीहरुका लागि सरकारले काठमाडौ उपत्यकामा व्यवस्था गर्ने ८ वटा होल्डिङ सेन्टरहरुमा टेलिकमले निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस