
काठमाडौं । नेपालमा कोरोना भाइरसको कारण थप एक जनाको मृत्यु भएको छ । पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका युवकको कोरोनाका कारण मृत्यु भएको हो ।
कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवकको स्वाबको पीसीआर परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ आएको पुष्टि गरेका हुन् ।
पञ्चपुरी नगरपालिका–९, विद्यापुर, सुर्खेतस्थित जनता माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा जेठ ८ गतेदेखि बसेका युवक बुधबार घर गएका थिए। बुधबार गरिएको आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएको मन्त्रालयले विज्ञप्तिमा जनाइएको छ ।
बिहीबार बिहान २ः१५ बजे युवकको मृत्यु भएको थियो । मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको महाशाखा प्रमुख तिवारीको भनाइ छ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सख्या ११ पुगेको छ।
प्रतिक्रिया दिनुहोस