इन्जिनियर दिल्लीराम अधिकारी २०५९ फागुन २२ गतेबाट नेपाल टेलिकमको सातौं तहमा प्रवेश गरेका हुन् । विगत १८ वर्षदेखि निरन्तर नेपाल टेलिकममा कार्यरत उनी विभिन्न आरोह अवरोह पार गर्दै एक वर्ष अघि टेलिकमको निर्णयात्मक तहमा पुगेका छन् । हाल सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमका प्रवन्ध निर्देशकको जिम्मेवारी सम्हालिरहेका दिल्लीराम अधिकारीसँग नेपाल टेलिकमले गरिरहेको प्रविधिको स्तरोन्नति, अगाडि बढाइरहेका योजनाको पूर्वाधार विकासको अवस्था तथा दिनानु दिन बढिरहेको प्रविधिको माग र जनस्तरलाई कनेक्टिभिटीमार्फत डिजिटल इकोनोमीमा रुपान्तरण गर्ने टेलिकमको योजनाबारे आर्थिकन्युजका सम्वाददाता लालकाजी तामाङले गरेको कुराकानीः
नेपाल टेलिकमको इन्टरनेटमा आधारित आईपीटिभी बजारमा ल्याउने काम कहाँ पुग्यो ?
अहिलो हामी गुणस्तर सुधार र सेवा विस्तामा व्यस्त छौ । यो वर्षको मुख्य कार्ययोजना नै हो यो । देश भर फोर जी सेवा पुर्याउने देशको मुख्य सहरहरूमा फाइबर टु द होम (एफटीटीएच) सेवा पुर्याउने एफटीटीएच मार्फत आईपीटिभी सर्भिस दिने गरि सम्झौता गरि सम्झौता अनुरुप सप्लायर्सले उपकरण ल्याएर पहिलो चरणको परिक्षणको काम सकिएको छ । परिक्षण पश्चात गुणस्तरमा अझै सुधार गर्ने र विलिङ सिस्टमहरू इन्टिग्रेसन गर्ने काम भईरहेको छ ।
प्राविधिक हिसाबले सबै स्थानमा परीक्षण गरिसके पछि व्इवसायिक रुपमा शुरु गछौं । भ्यालीभित्र सँग–सँगै चितवन, विराटनगरलगायतका शहरहरूमा विस्तार गर्नु पर्ला त्यसै अनुरुप हामी ब्याकबोन नेटवर्क बनाउने काममा लागिरहेका छौं । यी प्राविधिक कामहरू सकिने वित्तिकै छिटै बजारमा ल्याउँछौं । यो एफटीटीएच प्रविधिमा आधारित भएकोले यो सेवा लिएका ग्राहकहरूले सेट अप बक्स र सब्सक्रिप्सन प्लान लिँदा वित्तिकै आईपी टिभी प्रयोग गर्न सकिने छ ।
एफटीटीएच विस्तारको काम चाहिँ कहाँ पुग्यो ?
देशको प्राय जसो सहरहरूमा १ लाख ६० हजार नेटवर्क विस्तार भैसकेको छ । करिव ४६ हजार ग्राहकहरू बनाइसक्यौं । ग्राहक बनाउने र विस्तार गर्ने काम सँग–सँगै भइरहेको छ । हाम्रो लक्ष्य भनेकै अहिले प्रयोग भइरहेको तामाको तार भएको नेटवर्कलाई विस्तारै फाइवरमा रुपान्तरण गर्ने नै हो ।
फोरजी सेवा कहाँसम्म पुग्यो ?
फोरजी सेवा देशभरिका सबै शहरहरू, ग्रामीण क्षेत्रमा पुगिसक्यो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा ७७ वटै जिल्लामा पुगि सकेको छ । कभरेजको हिसाबले हेर्दा उच्च हिमाली क्षेत्रमा विस्तार गर्न त्यति सकिरहेको छैन । त्यहाँ वर्षमा ६ महिनाजति काम गर्न नसकिने भएकोले केही ढिला भएको हो । उच्च पहाडी र हिमाली क्षेत्रको पनि सदरमुकाम र मुख्य शरहमा पुगिसक्यो केही हिँउ परिरहेन ठाउँमा चाहिँ मौसमको प्रतिकूलताले सहज भइरहेको थिएन । अहिले फेरि लकडाउन भएको छ । चैतको अन्त वा वैशाखदेखि मौशम खुल्ने र हिउँ पग्लिने हुँदा यो वर्षको अन्तसम्म देशको सबै क्षेत्रमा कभरेज पुर्याउने हिसाबले काम गर्दै थियौं ।
फोरजीको लागि हामीले धेरै ठाउँमा काम गर्यौ । अहिले क्षमता बढोत्तरी, नेटवर्क ट्युनिङ, अप्टिमाइजेशनको काम भइरहेको छ । भर्खरै काठमाडौको नेटवर्कलाई कोर नेटवर्कमा विस्तार गर्ने काम सकिएको छ, जसले गर्दा काठमाडौंमा फोरजीको स्पिड उक्त सिस्टम सपोर्ट गर्ने डिभाइसमा धेरै छिटो (मल्टिपल इन्पुट, मल्टिपल आउटपुट) भएको छ । फोरजी सर्भिसका हिसाबले ४.५ जी बराबरको भएको छ ।
कोरोना प्रकोपका कारण केही अवरोध भएको छ ?
कोरोनाका कारण नेटवर्क डिप्लोइमेन्टमा समस्या छैन । उपकरणहरू आयात भैसकेको छ केही–केही उपकरणहरू अझैपनि आउने क्रममा रहेकोले त्यसमा चाहिँ अलि समस्या हो । त्यो भनेको अहिले हाम्रो नेटवर्क विस्तारको काम रोकिने गरीको समस्या भने होइन ।
मध्यपहाडी लोकमार्गमा फाइबर बिच्छ्याउने काम के भइरहेको छ ?
मध्यपहाडी लोकमार्गमा फाइवर विच्छ्याउने काम प्रदेश १, २ र बागमतीमा पाँच वटा प्याकेजमा काम भइरहेको छ । तीन वटा प्याकेज अप्टिकल फाइवरको लागि पूर्वाधार तयार पर्ने हो । अर्को एक उपकरण जडान गर्ने हो र अर्को भनेको राउटरको उपकरण जडान गर्ने हो । यसमा फाइबर विस्तार गर्ने काम तीन वटै प्रदेशमा एकैसाथ भइरहेको छ । फाइबर बनाउने काम २ वर्षमा सक्काउने हो । यो वैशाखमा १ वर्ष पुग्यो । तोकिएको लक्ष्य अनुसार सकाउँछौं ।
डीडब्लुडीएम उपकरण चाहिँ जडान गरिसक्यौं । राउटरको उपकरण ४५ प्रतिशत जडान भइसक्यो अबको दुई महिनामा जडान गरिसक्छौं र परिक्षण थाल्छौं । यो वर्ष सम्पूर्ण परिक्षण सकाएर सेवा प्रवाह गर्ने हाम्रो लक्ष छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा दूरसञ्चार प्राधिकरणसँग पूर्वाधार विस्तार गर्ने सम्बन्धि सम्झौता गरिसकेका छौं । त्यसलाई ठेक्का लगाउनको निम्ति टेण्डर डकुमेन्ट तयार भैसक्यो । पुनरावलोकन हुँदा वित्तिकै हामी प्रकाशन गछौं । यसलाई पनि तोकिएकै समयमा काम सकाउँछौं ।
अन्य दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक संस्थाहरूसँग प्रतिस्पर्धा गर्न सरकारी संस्थान भएकोले निर्णय प्रक्रियामा केही अप्ठ्यारो भएको छ कि ?
विगतका दिनहरूको तुलना गर्दा धेरै कामहरू अगाडि बढिसकेका छन् । हामी सार्वजनिक संस्थान भएकोले निर्णय प्रकृयामा हाम्रा विधि, कानुन, ऐनहरू छन् । तिनलाई पालना गर्नु पर्ने हाम्रो दायित्व न हो र सार्वजनिक जवाफदेहिता पनि हो । पारदर्शिताको कारणले पनि हामीले ति प्रकृया पालना गर्नुपर्ने हुन्छ । विधि प्रकृयाहरू चयन गरिसकेपछि निर्णय प्रकृयामा जटिलता छैन । जवाफदेहिता भने सतर्कताकासाथ हामी निर्णयहरू लिन्छौं र त्यो निर्णयले उपभोक्तालाई कस्तो असर पर्छ ? देशको अर्थतन्त्रलाई कस्तो असर गर्छ ? कम्पनीको व्यवसायिकतालाई अगाडि बढाउन कस्तो असर गर्छ ?
यी सबै कुरालाई केन्द्र विन्दुमा राखेर निर्णय गर्नुपर्ने हुनाले प्राविधिक क्षेत्रलाई पनि हेर्नुपर्ने, प्रविधिलाई अवलम्वन गर्नु पर्ने अन्तर्राष्ट्रिय अभ्यासलाई हेनुैपर्ने हुन्छ । कुनै सेवा, पूर्वाधार विस्तार गर्नु पर्दा यसको टिकाउ, दिर्घकालीन हुन्छ कि हुँदैन ? आम उपभोक्ताले सहज रुपमा स्वीकार गर्नु हुन्छ कि हुँदैन ? धेरै कुराहरू हेरेर निर्णय गर्ने भएकोले हामीलाई त्यति असहज हुँदैन ।
प्रतिस्पर्धी निजी क्षेत्रलाई जस्तो सहजता हामीलाई हुँदै हुँदैन । उनीहरूले एकै समय ठूला निर्णयहरू गर्न सक्छन् । हामीले धेरै कुराहरू फलो गर्नु पर्ने हुन्छ । तर पनि विधि, ऐन, कानुनलाई टेकेर निर्णय गर्न कुनै गाह्रो छैन । हाम्रो सेवाको पहुँच, गुणस्तरिता भएसम्म आम नेपाली ग्राहकले नेपाल टेलिकमकै सेवा लिनुहुन्छ । यो राष्ट्रको सञ्चार हो । यो नेपाली जनताको कम्पनी हो, राष्ट्रको कम्पनी हो, नेपाल सरकारको कम्पनी हो । त्यसैले बजारमा प्रतिस्तर्धा गर्न असहज हुँदै हुँदैन ।
यहाँले आम ग्राहकलाई कस्तो प्रकारको सेवा दिइरहेको छु जस्तो लाग्छ ?
विश्वभर नै यो दूरसञ्चार र सूचना सञ्चारको क्षेत्र भनेको इमर्जिङ सर्भिस क्षेत्र हो । यो सेवाले हरेक क्षेत्र समेटेको छ । स्वस्थ्य, शिक्षा यातायात लगायत जुनसुकै क्षेत्रमा यसको प्रयोग नभएको क्षेत्र नै छैन । आम जनताको जिवनस्तरलाई सहज बनाउनको निम्ति दूरसञ्चार सेवा अपरिहार्य नै भैसकेको छ । त्यसो भएको हुनाले देशभर जनताको निम्ति विश्वमै उच्च प्रविधियुक्त र उच्च गुणस्तरको सेवा हामीले अहिले दिइरहेका छौं । क्रमशः सेवा विस्तार र पूर्वाधार विकासको क्रममा रहेकोले कुनै–कुनै ठाउँबाट गुनासाहरू आउँछन् नै, ती गुनासाहरूको सम्बोधन निराकरण गर्दै निरन्तर सेवा दिँदै अगाडि बढिरहेका छौं ।
नेपाल टेलिकमको इन्टरनेट सम्बन्धी गुनासो कम भएको हो ?
अहिले इन्टरनेट स्पिड मोबाइलमा होस् वा फाइबरमा होस् धेरै नै तिब्र गतिको छ । गुनासाहरू पहिले भन्दा धेरै नै कम छ किनभने हामीले धेरै नै नेटवर्क विस्तार गरेका छौं । कभरेज, क्यापसीटीको समस्या छैन । त्यसैले गुनासो कम भएको हो । गुनासो आएका छन् त्यसलाई तत्कालै सम्बोधन गरेर अगाडि बढिरहेका छौं । पहिले जस्तो धेरै गुनासो भने छैन ।
वाईम्याक्स सर्भिसको अवस्था कस्तो छ ?
वाईम्याक्स सर्भिस तात्कालिन समयमा ग्रामिण क्षेत्रमा इन्टरनेट कनेक्टिभिटीको लागि सञ्चालनमा ल्याइएको प्रविधि हो । पछिल्लो समय अहिले यहाँको जिईओ अपरेटरले २३ सय मेगाहर्जमा फोरजी सेवा सञ्चालनमा ल्यायो । उक्त वाईम्याक्सको पनि सोही मेगाहर्जमा सञ्चालन हुने हुँदा तराई र पहाडी इलाकामा अवरुद्ध भएकोले सञ्चालन हुन सकेन । पहाडी इलाकामा चाहिँ सञ्चालन गरिराखेका छौं । वाइम्याक्स प्रविधि ग्राहकलाई मर्का नपर्ने गरि बिस्तारै फोरजीले विस्थापित गराउने छौं ।
तपाईँको कार्यकालभित्र टेलिकमले नगरी नहुने पाइपलाईनमा रहेका बाँकी कामहरू के–के छन् ?
पहिलो काम फोरजी सेवाको काम पूर्णरुपमा सक्काउने, त्यसपश्चात फइभजीको परिक्षण गर्ने, टुजी र थ्रीजीको पनि कभरेज नभएको ठाउँमा त्यसको विस्तार गर्नेकाम गर्ने छौं । किन भने अहिले पनि करिव ५० प्रतिशत ग्राहकको मोबाइल सेटहरू टुजी र थ्रीजी सपोर्ट गर्ने खालका छन् । अर्को भनेको फाइबर नेटवर्क विस्तार गर्दै जाने र यी मार्फत कन्टेन्ट (सुविधा) उपलब्ध गराउने, कन्टेन्ट डेभलप (सेवा सुविधा विकास) गर्ने, भ्यालु एडेट सर्भिसहरू ल्याउन काम त्यतिकै वाँकी छ ।
नेक्स जेनेरेशन आईओटी (एनजीआईओटी)को रुपमा जाने, एमटुएममा सहकाय गर्ने, दूरसञ्चार क्षेत्रलाई समाजका अरु एप्लिकेशनमा समायोजन गर्दै फराकिलो दायरा बनाउने र कनेक्टिभिटी मार्फत डिजिटल इकोनोमीमा रुपान्तरण गर्नेमा हाम्रो सहयोग हुन्छ । दूरसञ्चार क्षेत्रको देशको लिडिङ कम्पनीको रुपमा दायित्व पूरा गर्दै आम उपभोक्ताहरूको डिमाण्ड अनुरुप विश्व बजारमा भएका अभ्यासलाई फलो गर्दै माग अनुसारको प्रविधिको अध्ययन, प्रविधिको अवलम्बन र सेवाको विस्तार गछौं ।
विगत नेपाल टेलिकम सरकारको सर्वाधिक धेरै ट्याक्सपेयरको रुपमा परिचित थियो गत वर्ष त्यो लिष्टमा परेन नि, के टेलिकमको आयस्रोत घटेको हो ?
गत वर्ष हामी किन त्यो लिष्टमा परेनौं आश्चार्य लागिरहेको छ । गत २०७५/७६को आर्थिक वर्षमा पनि कर तथा गैरकर र सरकारलाई तिर्ने लाभांश सबै गरि ३३ अर्ब भन्दा बढी रकम सरकारी राज्यकोषमा हामीले दिएका छौं । । त्यति गर्दा पनि त्यसको भोलिपल्ट ठूला करदाता सम्मान मिलेन त्यो कुरा सम्बन्धित ठाउँमै बुझ्नुहोला । नेपाल टेलिकमलगायतका अन्य कम्पनीको हकमा राजस्वको प्रेसर चाहिँ छ ।
परम्परागत रुपमा जसरी हामी भ्वाईस कल मार्फत कमाउँथ्यौं त्यो घटिरहेको छ भने डाटा प्रयोगमा बढिरहेको छ । अबदेखि नेपाल टेलिकमको आम्दानी बढ्ने ढंगले लिएर जाँदैछौं । अघिल्लो वर्षको भन्दा राम्रो र सकारात्मक नै देखिएको छ । त्यसैले, नेपाल सरकारको राज्यकोषमा पनि कर तथा गैरकरका हिसाबले धेरै सहयोग गर्न तयार छौं ।
नेपाल टेलिकम नै किन रोज्ने ?
एक त हाम्रो धेरै सेवाहरू छन् । ल्याण्डलाइन टेलिफोन, त्यसमा एडीएसएल सर्भिस, एफटीटीएच सर्भिस, त्ससमा पनि टेलिफोन सर्भिस दिएका छौं । टुजी, थ्रीजी, फोरजी छ । अहिलेको फोरजी अत्याधुनिक प्रविधिसहित हाई स्पिडको छ । अर्को महत्वपूर्ण कुरा भनेको नेपाल टेलिकमको महसुल दर धेरै सस्तो र पारदर्शी छ । त्यसमा कुनै हिडन कष्ट छैन, शर्त लागू हुँदैन । ग्राहकहरू झुक्किनु पर्ने छैन । साथै नेपाल टेलिकम राज्यको कम्पनी भएको हुनाले यसको सेवा प्रयोग गरे वापत जति पनि आम्दानी हुन्छ उक्त आम्दानी भनेको नेपालकै विकासको निम्ति, नेपाली जनताकै समृद्धिको निम्ति खर्च हुने हो । त्यसो भएको हुनाले नेपाली उपभोक्ताहरूले नेपाल टेलिकमकै सर्भिस (सेवा) लिनुहुन्छ भन्ने विश्वास छ ।
काम गर्न के–कस्ता चुनौतीहरू छन् ?
चुनौती त धेरै हुन्छन् । चुनौतीलाई चुनौतीको रुपमा नलिई अवसरको रुपमा लिन सक्यौं भने हामी धेरै काम गर्न सक्छौं । हामी राज्यको कम्पनी हो राज्यका नीतिहरूलाई कार्यान्वयन गर्नु पर्ने हुन्छ । फाइदा नहुने ठाउँमा पनि लगानी गर्नु पर्ने हुन्छ । किनभने सबै जनतालाई विना भेदभाव हाम्रो सेवाहरू दिनुपर्ने हुन्छ । यो पनि हाम्रो लागि चुनौती हो भने अर्को समयमै प्रविधिको अवलम्वन गरिहाल्नु पर्ने हुन्छ ।
निर्णय प्रकृयामा ढिलाइ भयो भने हामीले जुन सर्भिस ल्याउन खोजेको हौं त्यो समयमा ल्याउन नसकेर चुक्न सक्छौं । ऐन, नियम, विधि–विधान फलोअप गरेर निर्णय प्रकृयामा जनुपर्ने हुनाले त्यो पनि चुनौतीको रुपमा छ । अर्को भनेको बजारको प्रतिश्पर्धा हो । आम ग्रहकहरूको छिटो–छिटो डिमाण्ड परिवर्तन हुन्छ, । छिटो–छिटो प्रविधिहरू परिवर्तन भइरहेको हुन्छ । समयमै त्यो प्रविधि ल्याएर सेवा दिनु पर्ने चुनौती पनि छ । त्यसो भएको हुनाले निर्णय प्रकृयामा ढिलो गर्ने छुट हामीलाई छँदै छैन । यी चिजहरू भनेको समयमै पहल गर्न सकियो भने अवसर मिल्ने हो ।
सार्वजनिक संस्थानमा कर्मचारी व्यवस्थापनको ठूलो चुनौती छ, यसलाई कसरी मिलाउनु भएको छ ?
सार्वजनिक संस्थान भनेकै धेरै कर्मचारीहरू हुने स्थान हो । त्यस्तो ठाउँम टिका टिप्पणीहरू भइनै हाल्छ । नेपाल टेलिकमको केशमा एउटा प्रतिस्पर्धाको आधारमा प्रवन्ध निर्देशकको नियुक्ति भएको हो । जुन एउटा कार्याविधि, क्राइटएरिया भित्रै रहेर विज्ञापन अनुसार मैले पनि दरखास्त दिएर प्रतिस्पर्धामा भाग लिएको हुँ । र नेपाल सरकारले मलाई विश्वास गरेर यो महत्वपूर्ण पदको जिम्मेवारी दिएको हो ।
यो विधी, प्रकृया र सरकारले गरेको विश्वासमा कर्मचारी साथीहरू पनि जानकार हुनुहुन्छ । यो वीचमा सबै कर्मचारीबाट धेरै सहयोग प्राप्त भयो । ट्रेड युनियनहरूबाट पनि सहयोग प्राप्त भएको छ, नभएको भए यो छोटो अवधिमा यति धेरै काम सम्भव थिएन । कुनै पनि काम सम्पन्न गर्नको निम्ति निर्णय हुनु पर्छ । निर्णय पश्चात कार्यान्वयन हुनुपर्छ ।
निर्णय हुनु र कार्यान्वयन हुनका निम्ति संस्थाको संगठन एक ढिक्का हुनु पर्दछ । अहिले जुन कामको रिजल्ट देखिएको छ यो देखिनु भनेको हामी सबैसँगै छौं भन्ने नै हो । नेतृत्व कस्ले गर्छ भन्ने ठूलो कुरो होइन । हामी दिशामा अघि बढिरहेका छौं ? कुन दिशा अवलम्न गरिरहेका छौं ? र त्यसलाई कसरी कार्यान्वयन गरिरहेका छौं ? आम जनताप्रतिको दायित्वमा हामी अगाडि छौं कि छैनौं भन्ने महत्वपूर्ण कुरा हो । यहाँका सबै कर्मचारी साथीहरू, ट्रेड युनियनहरू सबैको एकमत हुनुहुन्छ ।
रणनीतिक साझेदार भित्र्याउने कुरा कहाँ पुग्यो ?
रणनीतिक साझेदार भित्र्याउने कुराको वहस भएको हो । वहस अनुसार अन्तर्राष्ट्रिय टेन्डर मार्फत डीटीए गरेर डीटीएको रिपोर्ट सूचना प्रविधि तथा सञ्चार मन्त्रालय र अर्थ मन्त्रालयमा डेढ वर्ष अगाडि नै पठाइसकिएको छ । यो कम्पनीमा रणनीतिक साझेदार ल्याउने वा नल्याउने, ल्याउने भए कुन मोडालिटीका आधारमा कसरी ल्याउने भन्ने कुरा नेपाल सरकारकै हातको कुरा हो । यो कम्पनी कसरी अगाडी बढ्छ र यस्ले सोचेको काम भइरहेको छ कि छैन भन्ने मूल्याङ्कन नेपाल सरकारले गर्ने हो । त्यसैले यस सम्बन्धमा नेपाल सरकारले केही निर्णय गर्ला ।
अन्तमा केही भन्नु छ की ?
आम ग्राहकलाई नेपाल टेलिकमप्रतिको विश्वास जुन अहिले कायम छ, आगामी दिनमा झनै बढी विश्वास कायम दिनुहुनेछ भन्ने आशा छ ।
प्रतिक्रिया दिनुहोस