aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

दैलेखमा अनिश्चितकालीन कर्फ्यू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ जेठ २०७७
दैलेखमा अनिश्चितकालीन कर्फ्यू

सुर्खेत । कोरोना भाइरसको संक्रमण बढेसँगै दैलेखको दुई नगरपालिकामा आज साँझ ६ बजेदेखि निषेधाज्ञा जारी गरिने भएको छ। विहीवारमात्र दैलेखमा ११३ जनामा संक्रमण देखिएपछि जिल्ला सुरक्षा समितिले कर्फ्यू लगाउने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ, भिरतेत, उत्तरमा छात्रा र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लू नगरपालिकाको पूर्वमा माथिल्लो डुङ्गेश्वर, चुप्रा, शिरस्थान, पश्चिममा पादुकाखोला, कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र दक्षिणमा तल्लो डुङ्गेश्वरमा लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ।

राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, बैंकिङ्ग, आन्तरिक सुरक्षा, खानेपानी तथा विद्युत सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी तथा वितरण, फोहोरमैलाको व्यवस्थापन बाहेकका अन्य सबै सेवारस्थलहरुमा निषेधाज्ञा गरिएको प्रशासनले विज्ञप्तिमार्फत जनाएको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जिल्लाभरी प्रतिकुल प्रभाव पर्न सक्ने कुनै किसिमको गतिविधि हुनरगर्न नदिन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) तथा संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा गरेको हो। कर्फ्यू कहिलेसम्म भन्ने खुलाइएको छैन। 

निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही गरिने चेतावनी दिइएको छ। दैलेखमा २१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। एक जनाको मृत्यु भइसकेको छ। कर्णालीका दश जिल्लामध्ये सबैभन्दा बढी संक्रमित भएको जिल्ला दैलेख हो। संक्रमितको संख्या बढ्नेक्रम पनि उस्तै छ।

प्रतिक्रिया दिनुहोस