
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री बसन्तकुमार नेम्वाङले दुईवटा रेल खरिद प्रक्रिया अघि बढिसकेकोले अर्को वर्षदेखि जनकपुर जयनगर रेल चल्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले नेपालको झण्डा फहराएर आगामी वर्ष जनकपुर जयनगरका चल्ने बताएका हुन् ।
मन्त्री नेम्वाङलाई कांग्रेस सांसद सञ्जयकुमार गौतमले तीन वर्षदेखि सुरुङ मार्ग, रेल मार्ग, जलमार्गको कुरा सुन्दै आएपनि केही उपलब्धी नभएको भन्दै ‘रेलमार्ग र जलमार्गमा कति बजेट छुट्याउनुभएको छ भनी प्रश्न गरेका थिए । जवाफमा मन्त्री नेम्वाङले भने, ‘पूर्व पश्चिम रेलमार्गको डीपीआर सम्पन भएको छ । निर्माण गर्ने बेलामा अपडेट गरिन्छ ।’
उनले चालु आर्थिक वर्षमा रहेका योजनाहरुलाई निरन्तरता दिइएको तर, केहीबाहेक नयाँ योजना समेट्न नसकिएको बताए । ८० वटा राजमार्गलाई निरन्तरता दिँदै पूर्वपश्चिम राजमार्गलाई ४ लेनको बनाउन बजेट छुट्याइएको मन्त्री नेम्वाङको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस